बाँकेमा २१ संक्रमित निको भएर घर फर्किए
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ९, शुक्रबार

बाँके जिल्लाका पहिलो संक्रमितसँगै २१ जना कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट घर फर्केका छन् ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
संक्रमण निको हुनेमा बाँके जिल्लाकै पहिलो नेपालगंज उपमहानगरपालिका ८ का संक्रमित ६० वर्षीय पुरुष समेत रहेका छन् ।
पछिल्लो २४ घन्टामा गरिएको २१ जनाको स्वाब परिक्षणको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुने सबै नेपालगञ्ज उपमहानरपालिकाका हुन् ।
डिस्चार्ज भएर घर जान लागेका मध्ये नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का एक पुरुष र वडा नं. ८ का २० जना रहेका छन् ।
बाँकेमा पहिलोपटक वैशाख १९ गते ६० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मस्जिदमा पढाउँदै आएका एक शिक्षक थिए ।
त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङको आधारमा परिक्षण गरिँदा एकै टोलका अन्य मानिसहरुमा समेत संक्रमण देखिएको थियो ।
निको हुनेहरु दुईदेखि तीन हप्तासम्म अस्पतालमा बसेर उपचाररत थिए ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७० पुगेको छ ।
पछिल्लो दिन परिक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ बढ्दैछ भने निको हुनेको संख्या पनि बढ्दैछ ।
गत बुधबारमात्रै कोशी अस्पतालबाट उदयपुरका ८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए भने हिजो मात्रै पनि ४ जना टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालमा कुल संक्रमित संख्या भने ४ सय ८७ पुगेको छ । तीमध्ये तीन जनाको मृत्यु भएको छ ।
Categorized in समाज