विहीबारसम्म भारी वर्षाको संकेत, सतर्क रहन आग्रह
SamacharDesk | २०८१ श्रावण २२, मंगलबार

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी बिहिबारसम्म भारी वर्षाको उच्च जोखिम रहेकोले सर्तक रहन सचेत गराएको छ ।
प्राधिकरणले पाँच वटा प्रदेशका ३४ जिल्लामा बाढी पहिरोको उच्च जोखिम रहेकोले आगामी विहीबारसम्म भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको हो ।
जसमा कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम छन् भने वाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा उच्च जोखिममा छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम उच्च जोखिममा छन् । सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।
भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई सम्बन्धित निकायहरुसँग समन्वय गरी तत्काल सुरक्षित स्थलमा सार्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाहरूका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ ।
यसैबीच सोमबार परेको अविरल वर्षा र बाढीपहिरोमा परी बाग्लुङ तथा गुल्मीमा मृत्यु हुनेहरुको संख्या वृद्धि भइरहेको छ ।
बागलुङको बडिगाड गाउँपालिकाको वडा नम्बर ९ र १० मा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वडा नम्बर ९ को दर्लिङखोलामा पहिरोले एउटाघर पुरेको छ भने वडा नम्बर १० को आरुपाटामा तीनवटा घर पुरिएका छन् ।
दुवै घटनामा परी आठ जनाको ज्यान गएको र चार जनालाई जिवितै उद्धार गरिएको बाग्लुङका प्रमुख जिल्ला अधिकारीले जनाएको छ ।
उता, गुल्मीको मुसिकोट नगरपालिका– १ स्थित बिसौनामा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ ।
पहिरोले दुई वटा घर पुर्दा चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त घटनामा परी दुई जना घाइते भएका छन् ।
Categorized in राष्ट्रिय