भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
SamacharDesk | २०८१ आषाढ २८, बिहिबार

मुलुकका केही भागमा आज भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका ५ प्रदेशहरु कोशी, कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
अहिले वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ ।
कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भूभाग÷सिमाना आसपास रहेको विभागले जनाएको छ ।
यता निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिरोले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध भएका छन् ।
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक अवरुद्ध भएको छ ।
गएरातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो । पर्वतको मोदी गाउँपालिकामा छ वटा घर पुरिएका छन् । मोदी गाउँपालिका– २ देउपुरको जरुवाका ६ घर पुरिएका छन् भने जोखिममा रहेका अन्य ९ परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
Categorized in राष्ट्रिय