arin enterprises

साढे १३ सय पर्वतारोहीले लिए अनुमति

SamacharDesk | २०८० मङ्सिर २३, शनिबार

यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार अहिलेसम्म स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् ।

विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिनेहरू रहेका छन् ।

उक्त हिमालका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका विभागले जनाएको छ।

त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् ।

आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेका छन् ।

यो सिजनको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार यस पटक विभिन्न छ मुलुकका २२ जनाले नेपालका हिमालबाट स्की गर्नका लागि अनुमति लिएका छन् ।

स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक रहेका छन् । उनीहरूले हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन् ।

Categorized in राष्ट्रिय