पहिचानको आन्दोलनका कार्यक्रमहरुको घोषणा
SamacharDesk – विकाश | २०७७ आषाढ २८, आइतबार

पहिचानको माग गर्दै संघर्षरत संघीय गठवन्धनले फेरी आन्दोलनको शुरुवात गर्ने घोषणा गरेको छ ।
काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गठवन्धनले कोरोना भाइरस महामारीका कारण ३ महिनादेखि स्थगित आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
गठवन्धनले श्रावण महिनाभरि कोणसभा लगायत विरोध सभा र प्रचारात्माक कार्यक्रम गर्ने जनाएको छ ।
कार्यक्रम अन्तर्गत श्रावण १० गते कैलालीको धनगढी, १७ गते बाँकेको कोहलपुर, २४ गते नवलपरासी, ३१ गते रौतहतमा विरोध कार्यक्रम गर्ने गठवन्धनले जनाएको छ ।
यसैगरी श्रावण २४ गते नेपाल सरकारलाई ज्ञापन पत्र, श्रावण २५ गते सत्ता पक्ष र प्रतिपक्ष लगायतका पार्टीहरुलाई स्मरणपत्र हस्तान्तरण गर्ने कार्यक्रम संघीय गठवन्धनले बनाएको छ ।
यसको साथमा कुतनीतिक निकायका पदाधिकारीहरुलाई भेट गरी आन्दोलन गर्नुको कारण र उद्देश्ययको बारे प्रकाश पार्ने बताइएको छ ।
आन्दोलनका थप कार्यक्रममा भदौ २ गते मानवअधिकार साथै नागरिक अगुवाहरुसँग काठमाडौंमा गोलमेच सम्मेलन, भदौ ७ गते टिकापुर थरुहट विद्रोहको स्मरणमा राजधानी केन्द्रित विशाल विरोध कार्यक्रम तय गरिएको छ ।
साथै टिकापुरको हिँसात्मक घटना भएको दिन ८ गते कालो दिनको रुपमा देशव्यापी विरोध कार्यक्रम र मसाल जुलुस समेत निकाल्ने कार्यक्रम गठवन्धनको रहेको छ ।
आन्दोलनका अरु कार्यक्रम अन्तर्गत भदौ ३ गते पहिचान विरोधी धाराहरु समावेश भएको भन्दै संविधान जलाउने सम्मका कार्यक्रमको तयारी गठवन्धनले गरेको छ ।
राज्यले यहाँका आदिवासीहरुको पहिचान मेटाउने काम गरिरहेको छ’ गठवन्धनका ९ घटकमध्ये एक नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले कार्यक्रममा भन्नुभयो । ‘पहिचानको मागको साथमा देशमा विद्यमान भ्रस्टाचार, महंगी, फास्ट ट्र्याक लगायत उपत्यकाका साँस्कृतिक सम्पदा ध्वस्त गर्ने खालका कथित विकासे योजनाहरुको विरोधमा हामी अब सशक्त ढङ्गबाट अघि बढ्नेछौं ।’
पत्रकार सम्मेलनमा खम्वुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्वु, लिम्वुवानका अध्यक्ष कुमार लिंग्देन, थरुहट मोर्चाका संयोजक लक्ष्मण थारु, नेपाल लोकताीन्त्रक पार्टीका अध्यक्ष भानुराम थारु, तराइ मधेस राष्ट्रिय परिषद्का अध्यक्ष अधिवक्ता विकास कुमार ठाकुर लगायतले पहिचानसहितको संघीयताको पक्षमा जोड दिएका थिए ।
Categorized in राजनीति