वडाध्यक्ष मुकुन्द रिजालको निधन
SamacharDesk | २०८० भाद्र २१, बिहिबार

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको विहीबार निधन भएको छ ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति समेत रहनु भएका रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा विहीबार बिहान ७:३० बजे निधन भएको नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रिजाललको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । स्वर्गीय रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु र्याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
साथै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट उहाँले गहिरो समवेदना प्रकट गर्नुभएको छ । सभागृह पुगेर रिजालको पार्थिक शरीरमा प्रमुख बालेन्द्र साहले काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
साथै उपप्रमुख सुनिता डंगोलसहित अन्य व्यक्तिहरुले पनि रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उनको शव ११ देखि दिउँसो १२ बजेसम्म सभागृहमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको हो ।
त्यसपछि साढे १२ देखि साढे १ बजेसम्म पशुपति मन्दिर परिसरमा राखिने छ । उनको आजै दिउँसो साढे २ बजे अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ । विसं २०२७ कात्तिकमा जन्मनुभएका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उहाँ प्रहरीको हिरासतमा पर्नुभएको थियो । रिजाल कांग्रेस काठमाडौँ क्षेत्र नं(७ को क्षेत्रीय सभापति र कामनपा-१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित हुनुभएको थियो ।
सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका उहाँले मानव अधिकारवादी सङ्घसंस्थामा समेत आबद्ध भएर कार्य गर्दै आउनुभएको थियो ।
काठमाडौं महानगरपालिकाको प्रथम कार्यपालिका बैठकमा नवनिर्वाचित मेयर बालेन शाहलाई नियम सिकाएर स्व. रिजाल एकाएक चर्चामा आएका थिए । पछि मेयर शाहसँग महानगरको कार्यमा सहकार्य गर्दै आउनु भएको थियो ।
Categorized in राष्ट्रिय