नगेन्द्र हाडाको स्मृतिमा भक्तपुरमा सांगितिक कार्यक्रम
SamacharDesk – बिराज | २०७९ जेठ २३, सोमबार

नेपाली संगीत क्षेत्रका एक मुर्धन्य संगीतकर्मी स्व. नगेन्द्र हाडाको सम्झनामा भक्तपुरमा एका सांगितिक कार्यक्रमको आयोजना भएको छ ।
आराधना संगीत समूहसँगको सहआयोजनामा नगेन्द्र हाडा परिवारले ‘नगेन्द्र हाडा स्मृति साँझ’ को आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख आकर्षण बने नेपाली कला क्षेत्रमा हास्य सम्राटका नामले परिचित कलाकार मदनकृष्ण श्रेष्ठ । स्व. संगीतकर्मी हाडासँग लामो समय सहकार्य गरेका र हाडाका थुप्रै गीतमा स्वर दिएका कलाकार श्रेष्ठले वरिष्ठ संगीतकर्मी हाडाको सम्झना गर्दै शब्द मात्र राखेनन्, गीतहरु पनि गाए ।
मदनकृष्णका नेपालभाषाका थुप्रै लोकप्रिय गीतहरुमा शब्द र संगीत नगेन्द्र हाडाकै रहेको छ ।
कार्यक्रममा भक्तपुरका गायक कलाकारहरुले हाडाको गीत गाउँदै उनलाई श्रद्धान्जलि अर्पण गरे ।
देव हाडा, सुनिल लोहला, प्रवीण शाही, विजेन्द्र चवाल, शम्भु राजभण्डारी, विजय कायष्थ, लक्ष्मण पलिखेल, प्रनिल कृष्ण पलिखेल, सत्यनारायण मानन्धरलगायतका गायकहरुले स्व. हाडाको गीतहरु मधुर यो गीत, छःपिं जक काली मखु, ला छकू वय्क समयबजि, ल्हासाको, सापारु कुन्हु, हे माया तिमी, कति राख्छौ तिमीले मलाई, तिमीले मलाई चुरोटको, नारानद्यःथाय् भ्वय् नयां प्रस्तुत गरेका थिए ।
यसैगरी हाडाका सुपुत्रद्वय रवि हाडा र राजेश हाडाले पनि आफ्नो बुबालाई सम्झिँदै उनको गीत प्रस्तुत गरेका थिए । रविले यो खोला यो पानी गाए भने राजेशले मेरो प्यारो देश गीत प्रस्तुत गरे । हाडाका नाती यश हाडाले पनि हजुरबुबाको गीत झैंयोरे नाना झैंयोरे प्रस्तुत गरे ।
सोही कार्यक्रममा संगीतकर्मी रोशनकुमार राजभण्डारीलाई सम्मान पनि गरिएको थियो ।
साथै हाडाको गीत ‘मरु गणेद्यःया देगलय् गजू मरु’ र ‘बैसाख फर्केर आयो के भयो’को नयाँ भर्सनको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
नयाँ भर्सनको गीतमा हाडाका जेष्ठ सुपुत्र रविले स्वर दिएका छन् भने संगीत संयोजन कान्छो सुपुत्र राजेशले गरेका छन् । भिडियोको छायाङ्कन र दृश्य सम्पादन पनि राजेशले गरेका छन् भने निर्देशन हाडा दाजुभाईले गरेका छन् ।
भक्तपुर इताछेँ टोलका स्वर्गीय संगीतकर्मी हाडाले २०१६ सालमा रेडियो नेपालमा प्रवेश गरेपछि गीत गाउन थालेका थिए । उनका तीन दर्जन भन्दा वढी गीतहरु रहेका छन् । उनको ६९ वर्षको उमेरमा २०६७ सालमा निधन भएको थियो ।
Categorized in पेजथ्री