वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्य रहेनन्
SamacharDesk | २०८० माघ ५, शुक्रबार

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा विहीबार राती निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।
लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२:३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो ।
गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन्। नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्।
यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्। वैद्यले हालै मात्र गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए।
१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश वैद्यले वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए ।
करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए। उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए ।
उनको शुक्रबार पशुपतिमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका दुई छोरी र एक छोरा छन्।
Categorized in पेजथ्री