arin enterprises

नागढुंगा सुरुङमार्ग छिचोलियो

SamacharDesk | २०८१ बैशाख ३, सोमबार

नेपाललाई  सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेरसुरुङ ‘ब्रेक थु्र’ गर्नुभयो । प्रधानमन्त्रीले स्वीच थिचेपछि  धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ ।

आयोजनाको उद्धार सुरुङ रेस्क्यु टनेल भने गत साउनमै ब्रेक थु्र भइसकेको छ । आयोजना निर्माणको सुरुआती सम्झौता अनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्नेमा केही समय ढिला भएको हो ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल ९ वटा ब्रिज र एउटा फ्लाइओभर रहेका छन् ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान लाइटिङ, अक्सिजन पाइप जडान, भेन्टिलेसन लगायतका काम भने बाँकी रहेको आयोजनाले जनाएको छ ।

नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुने बताइएको छ ।

आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।

आयोजनाको कूल लागत झण्डै रु २२ अर्ब बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।

Categorized in राष्ट्रिय