arin enterprises

भारतका चार स्रष्टालाई नइ पुरस्कार

SamacharDesk – बिजयरत्न | २०८१ माघ २, बुधबार

नइ प्रकाशनले भारतका चार जना स्रष्टालाई २०८० सालको विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले दुई लाख रुपैयाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत आसामका केबी नेपालीलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि विगत साढे छ दशकदेखि निरन्तर समर्पित रहँदै आएको भन्दै नेपालीलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

नेपाली गीतसंगीत मार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन अहोरात्र क्रियाशील रहेको भन्दै सङ्गीतकार मुम्बई निवासी रञ्जित गजमेरलाई ‘नइ कोइलीदेवी पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसैगरी नेपाली भाषा साहित्यको समालोचना तथा अन्वेषणमा समर्पित दार्जिलिङका डा.जीवन नामदुङलाई ‘नइ ईश्वर बराल पुरस्कार’ प्रदान गर्न लागिएको नईले जनाएको छ ।

साथमा, कविता, निबन्ध, कथा र समालोचना लेखनबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान दिएकोमा सिक्किम निवासी साहित्यकार डा.शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्न लार्गिको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाई जानकारी दिएका छन् ।

नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको विशेष बैठकले भारतका चार जना स्रष्टालाई पुरस्कार प्रदान निर्णय गरेको हो ।

Categorized in पेजथ्री