arin enterprises

नृसिंह जयन्ती मनाईँदै

SamacharDesk – समाचारडेस्क | २०८० बैशाख २१, बिहिबार

आज बैसाख शुक्ल चतुर्दशी, नृसिंह जयन्ती मनाईँदैछ ।

भगवान नारायणका दश अवतारमध्ये एक नृसिंह भगवानको पूजा आराधना गरी आज नृसिंह जयन्ती मनाईँदै छ । नृसिंह भगवान नारायणका चौथो अवतार हुन् ।

सत्ययुगमा असुरका राजा हिरण्यकश्यपुको अत्याचार निकै बढेपछि लोककल्याणका लागि हिरण्यकश्यपुको बध गर्न नारायणले नृसिंहको अवतार लिएको किम्वदन्ति समाजमा प्रचलित छ ।

न मान्छेले न पशुपंक्षीले, न दिनमा न रातमा, न बाहिर न भित्र, न भूमिमा न आकाशमा, न अस्त्रले न शस्त्रले मार्न सकिने बरदान पाएका हिरण्यकश्यपुलाई नारायणले आधा मानव आधा सिंहको नृसिंह अवतार लिएर साँझको समयमा ढोकामा बसी आफ्नो काखमा राखेर आफ्नै नङ्ग्राले बध गरेका थिए ।

बैसाख शुक्ल चतुर्दशीकै दिनमा नारायणले नृसिंह अवतार लिएको विश्वास गरिन्छ । नृसिंह भगवानको पूजा आराधना गरेमा यश, सुख, शान्ति समृद्धि, पराक्रम, कीर्ति, सफलता पाइने जन विश्वास रहेको छ ।

नृसिंहको मन्त्र जप्नाले विघ्नबाधा, भूतप्रेत पिशाच भय, अकाल मृत्यु र असाध्य रोगबाट छुट्कारा पाइने पनि शास्त्रमा लेखिएको छ । विश्वास गरिन्छ । त्यस्तै नृसिंह भगवानले दैवी प्रकोपबाट मुक्ति दिलाउने विश्वास पनि रहेको छ ।

त्यसैले पनि भूकम्प जाँदा घुँडाले टेकी हातले भुईँमा थिचेर नरसिंह, नरसिंह भन्ने चलन समेत रहेको छ । अन्य देवीदेवताको जस्तै नृसिंह जयन्तीमा भने नेपालमा त्यति तामझाम वा हर्षोल्लास देखिने गरेको छैन ।

यद्यपि वर्षभरीको जात्रापर्व हेर्ने हो भने पाटनमा भने वर्षको दुई पटक नृसिंह भगवानलाई केन्द्रमा राखेर जात्रा वा धार्मिक गतिविधि चलाइएको छ ।

भाद्र कृष्ण पञ्चमीका दिन पाटनका राजोपाध्यायहरुको उपाकर्म गुठीले उपाकलं सायाः भन्दै नृसिंहलाई नगर परिक्रमा गराउने चलन छ ।

त्यस्तै कार्तिक कृष्ण त्रयोदशीका दिन मंगलबजारस्थित कृष्ण मन्दिर अगाडी कात्ति डबलीमा नृसिंह भगवानबाट हिरण्यकश्यपुको बधको लीला प्रदर्शन गर्ने चलन छ ।

भाद्र कृष्ण पञ्चमीका नृसिंह हिरण्यकश्यपुको बध पछिका शान्त स्वरुपका हुन् भने कात्तिक नाचका नृसिंह उग्र स्वरुपका नृसिंह हुन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नृसिंह वा नरसिंह भगवानको मन्दिर वा मूर्ति स्थापना गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र काठमाडौं, भक्तपुर र ललितपुर तीनै स्थानको मल्लकालीन दरवार परिसरमा नृसिंहको मन्दिर स्थापना गरिएको छ भने पाटन दरवार परिसरमा ज्वाला नरसिंहको मन्दिर रहेको छ ।

त्यसैगरी काठमाडौंको असन नजिकै प्यंगःथांमा पनि सिंहको टाउको एउटा मात्र राखिएको मन्दिर रहेको छ । स्थानीय वासिन्दा यसलाई नरसिंह आजु भनेर पूजा गर्ने गर्दछन् ।

Categorized in संस्कृति