नास्टका विज्ञ टोलीबाट सिसडोलको प्रदूषणबारे अध्ययन
SamacharDesk | २०७९ जेठ २५, बुधबार

बञ्चरे डाँडामा महानगरपालिकाले फोहोर फाल्ने कार्यमा आज पनि स्थानीयवासीले अवरोध सिर्जना गरेको छ ।
स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए ।अवरोधपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको थियो ।
यसैबीच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको छ । डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाई जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टोलीले लिच्चड मिसिएर प्रदूषणको अध्ययन गरेको हो ।
लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभयो ।
सिसडोलबाट संकलित तीनवटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको र यसबाट सो स्थानमा जल सम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
विज्ञटोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ । पानी तथा लिच्चडको पुर्ण रिपोर्ट आगामी केहिदिनमा थाहा हुने र पुर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्ने छ ।
नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिने प्रमुख शाहले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय