arin enterprises

सरकारी वकिलहरुको तेश्रो राष्ट्रिय सम्मेलन हुँदै

SamacharDesk – बिकाश | २०७७ पौष ३, शुक्रबार

नेपालका सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलन आउँदो पौष ८ गते बुधबारबाट काठमाडौंमा शुरु हुने भएको छ ।

‘अभियोजनमा सुधार, फौजदारी न्यायको आधार’ भन्ने मूल नाराका साथ सरकारी वकिलहरुको तेश्रो राष्ट्रिय सम्मेलन आउँदो ८ गतेबाट १० गतेसम्म जुममार्फत भर्च्युअल रुपमा हुन लागेको हो ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री के.पी. शर्मा ओलीबाट हुने कार्यक्रम रहेको छ ।

सोही कार्यक्रममा सर्वोत्कृष्ट सरकारी वकिलहरुलाई एटर्नी अफ दि इयर पुरस्कारबाट सम्मानित गर्ने कार्यक्रम समेत रहेको छ । सोही सम्मेलनको उद्घाटन सत्रकै क्रममा महान्यायाधिवक्ता कार्यालयको नवनिर्मित भवनको पनि प्रधानमन्त्री ओलीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

समापन समारोहमा भने प्रमुख अतिथिको रुपमा गृहमन्त्री रामबहादुर थापाको उपस्थिती रहने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

कानूनहरूले गरेका नयाँ व्यवस्था समेतका सन्दर्भमा सरकारी वकीलहरू बीच हुने छलफलबाट साझा दृष्टिकोण विकास गरी कार्यसम्पादनमा एकरुपता कायम गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिन लागिएको जनाइएको छ ।

साथै सरकारी वकीलहरुको व्यावसायिकता अभिवृद्धि गर्ने र सरकारी वकील कार्यालयको संस्थागत क्षमता विकास गर्ने समेत सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ता कार्यालयले जानकारी दिएको छ ।

नेपालका सरकारी वकीलहरूको पहिलोे राष्ट्रिय सम्मेलन गत २०७३ साल पौष ८ गतेबाट १० गतेसम्म काठमाण्डौमा भएको थियो । प्रथम सम्मेलनले सरकारी वकीलको कार्यसम्पादन र व्यावसायिकता विकासमा केन्द्रित भई ३० बुँदे घोषणापत्र समेत जारी गरेको थियो ।

Categorized in राष्ट्रिय