परीक्षा बोर्डद्वारा पुरक परीक्षाको तालिका सार्वजनिक
SamacharDesk | २०७९ भाद्र १९, आइतबार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका विद्यार्थीहरुलाई मौका परीक्षा स्वरुप परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
गत शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि मौका परीक्षा दिन वोर्डले तालिका सार्वजनिक गरेको हो ।
जस अनुसार आगामी असोज ३० गते अनिवार्य अंग्रेजी अथवा एक विषय मात्रै लागेका विद्यार्थीको हकमा सोही विषयको परीक्षा लिइने छ । दुई विषय लागेका विद्यार्थीको हकमा भने दुई विषय मध्ये आफूले परीक्षा दिने नम्बरहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ ।
यस्तै असोज ३१ गते दुई विषय लाग्नेहरु मध्ये आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने वोर्डले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
पुरक परीक्षामा सहभागी हुने विद्यार्थीहरुले आगामी असोज ७ गतेभित्र बोर्डको खातामा ६ सय रुपैयाँ परीक्षा शुल्क बुझाउनु पर्ने छ । असोज ७ गतेसम्म शुल्क बुझाउन नभ्याउने विद्यार्थीहरुले असोज १४ गतेसम्म दोब्बर दस्तुर तिर्नुपर्ने छ ।
यसरी परीक्षा शुल्क बुझाएका विद्यार्थीहरुले दस्तुर बुझाएको भौचरसहित असोज २५ गतेभित्र आवेदन फारम बुझाउनु पर्नेछ ।
गत शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा ५२ प्रतिशत विद्यार्थी अनुतीर्ण भएका छन् ।
Categorized in राष्ट्रिय