arin enterprises

राष्ट्रिय टोपी दिवस मनाईंदै

SamacharDesk – समाचारडेस्क | २०८० पौष १६, सोमबार

'नेपाली टोपीस् नेपाली पहिचान] भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइरहेको छ ।

अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो ।

जागरुक युवा अभियान नेपालको आयोजनामा सोमवार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी मनाइएको छ ।

दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको आयोजकले बताइएको छ ।

उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् । उनीहरुले नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, नेपाली टोपी हाम्रो पहिचान, हाम्रो राष्ट्रिय पहिचान टोपी लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

उनीहरुले नेपालमा पनि कुनै बेला दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाकका रूपमा लिइन्थ्यो तर ०६८ साल यता यी पोसाकलाई राष्ट्रिय पोसाकको सूचिबाट हटाइएकोमा दुखेसो पोखेका छन् ।

नेपालीहरु आँखा चिम्लेरै विदेशी संस्कार, खानपिन र आकर्षणमा चुर्लुम्म डुब्न थालेका छन् । अचेलका पुस्ता आधुनिक बन्ने होडमा फेसनदेखि बोलीसमेतमा पश्चिमापन झल्काउन थालेका छन् ।

आफ्नो पारिवारिक, सामाजिक र राष्ट्रिय विषयवस्तु अँगाल्दा पुरातन भइने डर छ युवा पुस्तामा । नजानेर होइन कि जानेरै अन्धाधुन्धरुपमा पश्चिमा प्रवृत्ति अङ्गालिरहेको अभियन्ताहरुले बताए । 

यस दिन नेपाल बाहिर रहेका नेपाली समुदायले पनि विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गर्दछन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ। विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ।

तर नेपालका विभिन्न समुदायले आआफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।

Categorized in राष्ट्रिय