आज राष्ट्रिय धान दिवस
SamacharDesk – Ram Dangol | २०८१ आषाढ १६, शनिबार

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस ।
आज २१ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव २०८१ मनाइरहेको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते विभिन्न कार्यक्रम यो महोत्सव मनाईंदैछ ।
देशभरका किसान तथा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ यो दिवस मनाईंदैछ । राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन धानको मुख्य भूमिका रहेको छ ।
यो धान दिवस २०६१ सालदेखि मनाउँदै आएको छ । कृषि प्रधान देश नेपालमा असार महिना आफैंमा खेतीबाली लगाउने समय हो । यो महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा लिने गरिन्छ ।
त्यसैले असार १५ नेपाली किसानहरुसंग प्रत्यक्ष जोडिएको पर्व हो । यस दिन किसानहरु मात्रै होइन, कहिल्यै हिलोमा नजानेहरु पनि हिलो खेल्न हौसिने गर्दछन् ।
आजको दिन असारे भाकासंगै एकआपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गरी रोपाई गर्ने दिनको रुपमा पनि परिचित छ । असार १५ गतेका दिन नेपालीले रोपाइँ गर्दै खेतमा दही चिउरा खाने गरेको छ ।
खेत नगएका पनि सो दिन घरमै दही चिउरा खाएर धान दिवस मनाउँदै आएका छन् । रोपाइँ गरी दही चिउरा खानाले शरीरलाई शितल बनाउने तथा विश्वासले आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने गरेको पाइन्छ ।
दोहोरी रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो । तर धुमधामसंग रोपाई गर्ने चलन आज भोलि पातलिंदै गएको छ । आधुनिकताको नाममा यस्ता मौलिक सँस्कृतिक नै हराउँने त होइन भन्ने आशंका पनि गर्न थालिएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो भने हरेक वर्ष ५० लाख मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गरेको छ । तर पछिल्ला वर्षहरुमा युवा जनशक्तिको अभावमा धान उत्पादन हुने उर्वर खेतहरु बाँझै बस्ने समस्या बढिरहेको छ ।
अर्कोतर्फ खेतीयोग्य जमिनमा सबैतिर सिंचाई सुविधा पुग्न सकेको छैन भने जनशक्ति अभाव भोगिरहेका कृषक वर्गले मल विऊमा समेत आवश्यकता अनुसारको सहुलियत पाउन सकेका छैनन ।
त्यसैले धान उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने योजना गफमै सीमित भईरहेको छ । त्यसमाथि जलवायु परिवर्तनको असर अन्य बालीहरुका साथै धान बालीमा पनि परिरहेको छ ।
Categorized in राष्ट्रिय