आज राष्ट्रिय झण्डा दिवस
SamacharDesk – राम डंगोल | २०८० पौष १, आइतबार

आज पुष १ गते राष्ट्रिय झण्डा दिवस । आज देशभर छैठौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ ।
संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई २०१९ साल पुस १ गतेको दिन विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाउँदै आइरहेको छ ।
आज काठमाडौंमा नेपालको राष्ट्रिय झण्डा बोकेर ¥याली समेत गरिएको छ । नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको बताइन्छ ।
राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्नेमा अभियन्ताहरुले जोड दिंदै आएका छन् ।
नेपालको राष्ट्रिय झण्डामा दुई चुच्चो र तीन कुना हुनुले नेपाल हिमाल, पहाड र तराई भूमीको देश भएको जनाउने संस्कृतिविद्हरु बताउँछन्। लिच्छविकालीन अंशुवर्माको मुद्रामा पनि दुई पताकासहितको नेपालको झण्डा अंकित छ।
यी मुद्रामा सिंहले झण्डा समातेको देखिन्छ। शक्ति र स्वाभिमानको प्रतीक सिंहले झण्डालाई अभिवादन गरेको आकृति मानदेवकालीन मुद्रामा समेत भेटिएको छ। नेपाली झण्डामा चन्द्र माथि र सूर्य तल छ। चन्द्रलाई मन र बुद्धिको प्रतीक मानिन्छ भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो।
मन र बुद्धिको अधिनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने मान्यता बुद्धिजिविहरुले राख्दै आएका छन्। चन्द्र शान्तिको प्रतीक हो भने सूर्य अर्थ परिवर्तनको सूचक भएकोले देशमा शान्ति स्थापनापछि नै सामाजिक, राजनीतिक र आर्थिक समृद्धि आउने भएकाले सूर्य तल्लो कोणमा राखिएको संस्कृतिविद्हरु बताउँछन् ।
नेपालको झण्डामा रहेको ८ कोणको चन्द्रमाले १६ कला र सूर्यको १२ कोणले १२ महिना, १२ राशी बुझाउँछ। रातो रंगले उर्जा, नीलोले आकाश र सेतोले शान्तिलाई प्रतिविम्बन गर्छ। विभिन्न अभिलेखहरूका आधारमा त्रिकोणात्म आकारको नेपालको झण्डा १३ सय वर्ष पुरानो हो।
नेपालको झण्डा अन्य देशकोभन्दा पृथक छ। विश्वभर चार कुने झण्डा प्रचलनमा छ। नेपालको झण्डामात्र तीन कुने छ। वि सं. २०१९ मा इन्जिनियर शंकरनाथ रिमालले हालको झण्डा नक्साङ्कन गरेका थिए। झण्डाको स्वरुप उही थियो ।
०१९ मा संवैधानिक मस्यौदा समिति बनेपछि झण्डाको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितिय सूत्रको प्रयोग भयो। जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो ३, ४ र ५ को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भन्ने गरिएको इन्जिनियर रिमाल बताउँछन्।
विश्वमै फरक पहिचान भएको हान्रो देशको झण्डलाई गणतन्त्रपश्चात शाहवंशले सुरु गरेको भन्दै यसलाई परिवर्तन गर्ने प्रयास पटक–पटक भएको थियो तर नागरिकस्तरबाटै चर्काे विरोध भएपछि सो कार्य बन्द भएको थियो ।
Categorized in राष्ट्रिय