विमान दुर्घटनामा ज्यान गुमाएहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने
SamacharDesk | २०८१ श्रावण १०, बिहिबार

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी १८ जनाको ज्यान गएको शोकमा आज नेपाल सरकारले राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
हिजो मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै उक्त निर्णय गरेको थियो । यस्तै बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।
दुर्घटनामा परेर मृत्यु भएका १८ जना शवको पोष्टमार्टम शिक्षण अस्पताल महाराजगञ्जमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिनुभयो ।
मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उहाँले जानकारी दिनुभयो ।
शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइने छ । यी विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गर्ने उहाँले बताउनुभयो ।
डीएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय