arin enterprises

नवराज विक हत्या काण्डमा संलग्न २४ जनालाई जन्मकैद

SamacharDesk | २०८० मङ्सिर २०, बुधबार

रूकुम जिल्ला अदालतले जाजरकोटका नवराज विक सहित ६ जनाको हत्याको घटनाको कसुरमा थुनामा रहेका २४ जनालाई जन्मकैदको फैसला गरेको छ ।

उक्त घटनामा संलग्न भएको भन्दै मङ्गलबार रुकुम जिल्ला अदालतका जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो ।

जन्मकैदको सजाय पाउनमा नवराजकी प्रेमिकाका बुबा र दाजु सहित चौरजहारी नगरपालिकाका तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल र विनोद मल्ल, विष्णु मल्ल रहेका छन् ।

नवराजकी प्रेमिका, भाइ र आमालाई भने जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। तारेकमा रहेका अन्य आठजनालाई उक्त मुद्दामा सफाइ दिइएको छ ।

सफाइ पाउनेहरुमा तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भिमबहादुर बुढा, ईन्द्र बहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द छन् ।

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि छजना युवाले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो ।

प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

Categorized in अपराध