पार्टीभित्रको वादविवादबाट आत्तिनुनपर्ने नेता नेपालको भनाई
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण ७, बुधबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्रको वादविवादबाट आत्तिहाल्नु पर्ने कुनै कारण नभएको बताउनु भएको छ ।
काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको आज उद्घाटन गर्दै नेपालले मिहिन ढङ्गले सम्वाद भइरहेको र विधिबाट सबै टुंगो लगाउने बताउनुभयो ।
उहाँले नेताभन्दा नि पार्टी बनाउने आधारमा चल्नुपर्नेमा पनि जोड दिनुभयो ।
‘नेताहरुको बिचमा विश्वास र समझदारीको समन्वय भयो भने अनि विधिको आधारमा टेकेर चल्ने अवस्था भयो भने जस्तो सुकै चुनौतिको सामना गर्न सकिन्छ,’ पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो ।
सो अवसरमा पुष्पलालको योगदानलाई चीर स्थाई बनाई राख्न पनि पार्टी एकतालाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेता नेपालले कसैले जानि–जानि कमजोरी गर्छ भने त्यसको सजाय पार्टीले होइन व्यक्तिले पाउनुपर्छ भन्नुभयो ।
उहाँले समाजवाद स्थापना गर्ने नयाँ युगमा प्रवेश गरेको भन्दै सबै किसिमको चुनौतिको सामना गर्दै एकताबद्ध हुँदै अघि बढ्नु पर्ने जिम्मेवारी सबै नेताको काँधमा आएको पनि बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सबै नेताहरुलाई एकताबद्ध भएको सन्देश दिएर आम कार्यकर्ता र नेपाली जनताको मन जित्न सुझाव दिनुभयो ।
प्रदेश सांसद बसन्त मानन्धरले नेकपाको विकल्प नेकपा नै भएको भन्दै नेता प्रधान नभइ नीति प्रधान हुनुपर्नेमा जोड दिनुभयो ।
वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले पार्टीको गोप्य बैठकका समाचार बैठक नसकिइ सामाजिक सञ्जालमा आउनु दुःखद् भएको भन्दै नेताहरुलाई एकताबद्ध भएको सन्देश दिन आग्रह गर्नुभयो ।
Categorized in राजनीति