arin enterprises

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि

SamacharDesk | २०८० भाद्र २८, बिहिबार

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा हजारौं सुभचिन्तकको उपस्थितिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले लिम्बु संस्कार अनुसार दागबत्ती दिएका छन् । नेपाली सेनाको एक टुकडीले स्वर्गीय नेम्वाङप्रति शोक धुन बजाएर सम्मान व्यक्त गर्नुभयो ।

गत मंगलबार विहान हृदयघातका कारण निधन भएका नेम्वाङको शव मंगलबार र बुधबार श्रद्धाञ्जलीका लागि नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो ।

बुधबार दिउँसो लिम्बू समुदायको साँस्कृतिक संस्कारका लागि नेम्वाङको शव उनकै घर बालुवाटारमा राखिएको थियो ।

अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित दलका नेताहरु, एमालेका नेताहरु आर्यघाट पुग्नुभएको छ ।

नेता नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाउनुभयो ।

सो अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित सरकारका मन्त्रीहरु, सांसदहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।

Categorized in राष्ट्रिय