arin enterprises

नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ पौष १७, बिहिबार

नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ’नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने घोषणा गरेको छ ।

बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले एनटिबिको वार्षिकोत्सव उद्घाटन समारोहमा बोल्दै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।

कार्यकारी प्रमुख जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरे ।

एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ, जसमा शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य, र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ ।

त्यसैगरी बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले बोर्डले नतिजा दिने गरी काम भइरहेको उल्लेख गर्दै निजी क्षेत्र र सरकारसँग समन्वय हुने गरी कार्यक्रमहरु केन्द्रित गरिएको जानकारी गराएका छन् ।

कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वल्र्ड टुरिजम नेटवर्क र यूएन टुरिजमबाट भिडियो सन्देश जारी गरिएको थियो । त्यसैगरी कार्यक्रमका अवसरमा बोर्डको वार्षिक प्रकाशन इन–फोकस पनि विमोचन गरिएको थियो ।

Categorized in बिजनेस