नेपालभाषा तथा तामाङभाषा कामकाजि भाषाको रुपमा शुभारम्भ हुँदै
SamacharDesk – राम डंगोल | २०८१ बैशाख २४, सोमबार

बागमती प्रदेश सरकारले आजदेखि सरकारी कामकाजी भाषाको मान्यताको शुभारम्भ गरिंदैछ ।
प्रदेशस्तरीय सरकारी कार्यालयहरुमा नेपाली भाषा सँगसँगै नेपाल भाषा तथा तामाङ भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्ने भएको छ ।
२०७२ सालमा जारी भएको नेपालको संविधानको धारा २८७ मा व्यवस्था भएअनुसार भाषा आयोगले २०७८ भदौ महिनामा प्रदेशको सरकारी कार्यालयहरुमा कामकाजि भाषाको रुपमा नेपालभाषा र तामाङ भाषालाई सिफारिस गरेको हो ।
यसै अवसरमा राजधानीको वसन्तपुरमा वृहत कार्यक्रमको आयोजना भइरहेको छ । कार्यक्रममा मुख्य अतिथि रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशस्तरमा कामकाजी भाषाको रुपमा शुभारम्भ गर्नुहुने कार्यक्रम छ ।
यसअघि आज विहानै तामाङ समुदाय तथा नेवाः समुदायको सांस्कृतिक झाँकीसहितको र्यालीले नगर परिक्रका गरेको थियो ।
कार्यक्रमका लागि बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यको संयोजनमा ३३० सदस्यीय विशेष समारोह समिति गठन गरिएको छ ।
सरकारले यही कात्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो । यसअवसरमा बागमती प्रदेश सरकारले बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
Categorized in राष्ट्रिय