arin enterprises

नेपाल टेलिभिजनबाट नेपालभाषाको समाचार प्रशारण

SamacharDesk | २०८१ कार्तिक १, बिहिबार

नेपाल टेलिभिजनबाट नेपालभाषाको समाचार बुधबारदेखि शुभारम्भ भएको छ ।

बुधबार एक कार्यक्रमका बीच दिउँसो ४ः३० बजे नेपालभाषाको समाचार प्रशारण सुरु भएको । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधता जोगाउन भाषाभाषीका समाचार आवश्यक रहेको बताउनुभयो ।

नेपाल भाषाको समाचार प्रशरणको उद्घाटन गर्दै मन्त्री गुरुङले देशको विविधता जोगाउन विभिन्न भाषामा समाचार प्रसारण गर्न आवश्यक रहेको बताउनुभयो । “नेपाल विविधतायुक्त देश हो र यसलाई नेपालीहरुले नै जोगाउनुपर्छ,’ गुरुङले भने ।

उहाँले नेपाल टेलिभिजनले विविधताभित्र एकता खोज्ने र हिजो बहिष्कृत भएका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “नेपाल टेलिभिजन राज्यको हो, यसले राज्यलाई झल्काउनु पर्छ ।

यस भाषामा समाचार सुन्न र हेर्न पाउँदा नेपालीहरू गौरवान्वित हुन्छन्, यो नेपाल टेलिभिजनको गौरवको काम हो।” उहाँले भन्नुभयो ।

राससले मंगलबार नेपाली भाषामा समाचार सेवा सुरु गरेको बताउँदै मन्त्री गुरुङले नेपाल टेलिभिजनले बुधबारबाट समाचार सेवा सुरु गरेको बताउनुभयो ।

सुचना तथा संचार मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको ६० दिने कार्यसूचीमा नेपाल टेलिभिजनले एउटा महत्वपूर्ण काम गर्न सफल भएको र यसले नेपाल भाषा समुदायको भाषा मात्रै नभई लिपिको पनि संरक्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल टेलिभिजनका अध्यक्ष समिर जंग शाहले स्रोतको अभावमा पनि देशका विभिन्न भाषाको संरक्षण र प्रवद्र्धन गर्ने राज्यप्रतिको दायित्व पूरा गर्न नेपाल टेलिभिजन तयार रहेको बताए ।

नेपाल टेलिभिजनले गत वर्षदेखि नै तामाङ र गुरुङ भाषामा समाचार प्रसारण गरिरहेको छ । नेपालमा मातृभाषा पत्रकारिताको ६० औँ वार्षिकोत्सवको अवसरमा बुधबारदेखि नेपाल टेलिभिजनमा नेपाल भाषाको समाचार प्रसारण सुरु भएको हो ।

नेपालको जनगणना २०७८ अनुसार नेपाल भाषा बोल्ने जनसंख्या ८ लाख ८३ हजार (तीन प्रतिशत) रहेको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सहभागिता रहेको थियो ।

यसैबीच रेडियो नेपालले पनि आजदेखि दनुवार भाषाको समाचार प्रशारण सुरु गरेको छ ।

Categorized in समाज