नेपालको विश्वकप यात्रा समाप्त
SamacharDesk | २०८१ आषाढ ४, सोमबार

नेपाल आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको छ ।
सेन्ट भिन्सेन्टको किंग्सटाउनमा आज भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले हराएको हो । बंगलादेशले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटियो ।
नेपाललाई हराउँदै बंगलादेश विश्वकप टि–ट्वेन्टी क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ । आज बिहान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको बंगलादेशले १९ ओभर ३ बलमा अलआउट हुँदै १०६ रन जोड्यो ।
उसका लागि शकिब अल हसनले सर्वाधिक १७ रन जोडे । बलिङतर्फ नेपालका सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले दुई दुई विकेट लिए ।
जवाफमा १०७ रनको लक्ष्य पछ्याएको नेपालका कुशल मल्लले २७ रन तथा दिपेन्द्रसिंह ऐरीले २५ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका तान्जिन हसन शकिबले ४ विकेट लिंदा मुस्तफिजुर रहमानले ३ विकेट झारे ।
आजको खेलमा दुई विकेट लिएका नेपालका सन्दिप लामिछानेले टि–ट्वेन्टी अन्तराष्ट्रियमा आफ्नो सय विकेट पुरा गरेका छन् ।
यस नतिजासँगै बङ्गलादेश समूह ‘डी’ को उपविजेता बन्दै सुपर आठमा पुगेको छ भने नेपालको विश्वकप यात्रा जितबिहिन भएको छ ।
यस्तै समूहमा अपराजित दक्षिण अफ्रिका लगातार चार खेल जित्दै आठ अङ्कसहित शीर्षस्थानमा रह्यो । दक्षिण अफ्रिका एक खेल अगावै सुपर आठमा पुगेको थियो ।
नेपाल र बङ्गलादेशबीचको नतिजाले नदेरल्यान्ड्स पनि विश्वकपबाट बाहिरियो । श्रीलङ्का र नेपाल यसअघिनै बाहिरिएका थिए । यससँगै जारी विश्वकपमा सुपर आठको समिकरण पनि पूरा भएको छ ।
नेपाल यसअघि दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।
Categorized in स्पाेर्ट्स