सुपर ओभरमा नेपाल ओमानसँग पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १९, आइतबार

आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ ।
आईतबार भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अबिनाश बोहराको ओभरमा तीन छक्का प्रहार गर्दै ओमानले नेपाल सामु ठुलो चुनौती प्रस्तुत गरेको थियो । तर नेपालले सुपर ओभरमा राम्रो ब्याटिङ प्रर्दशन गर्न सकेन ।
बिलाल खानले गरेको बलिङमा कुशल भुर्तेल पहिलो बलमा आउट भए । कुशल मल्लले दुई चौका प्रहार गर्दै नेपालको लागि १० रन मात्र जोड्न सक्यो ।
यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
नेपालका लागि गुल्सन झाले २५ बलमा ५४ रनको अर्धशतकीय पारी खेले । गुल्सनले २५ बलमा ५ चौका र ४ छक्काको मदतले सो रन बनाएका थिए । कप्तान रोहित पाडेलको अविजित ५२ रनको बनाए ।
ओपनर कुशल भुर्तेलले ३१ रन बनाएको इनिङ्समा आसिफ शेखले ६, सन्दीप जोराले १० र कुशल मल्लले ३ रन बनाएका थिए । विवेक यादव १ रनमा आउट हुँदा करन केसी २० रनमा अविजित रहे ।
ओमानका बिलाल खानले ३ तथा आकिब इलियासले २ र जिशान मकसुदले १ विकेट लिएका थिए ।
नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो ।
ओपनर कश्यप प्रजापतीले ६३ रन बनाउँदा आकिब इलियासले ३३ रन बनाएका थिए । जिसान मकसुदले २६ र मोहम्मद नदिमले अविजित २४ रन बनाएका थिए ।
अन्यको प्रर्दशन भने खासै उल्लेख्य रहन सकेन ।
नेपालका सन्दीप लामिछाने र करन केसीले समान २/२ तथा सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा र विवेक यादवले समान एक विकेट लिए ।
योसँगै नेपालले समूह चरणमा ओमानसँग ब्यहोरेको हारको बदला लिने अवसर समेत गुमाएको छ ।
यसअघि नेपाल समूह चरणको खेलमा समेत ओमानसँग पराजित बनेको थियो ।
यस्तै नेपाल र ओमान यसअघिनै अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् ।
Categorized in स्पाेर्ट्स