आयल निगमले अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्ने
SamacharDesk | २०८० भाद्र १९, मंगलबार

नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण गर्ने भएको छ ।
काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो ।
आठ रोपनी जग्गामा आठ करोड ५० लाख रुपियाँ लागतमा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ ।
प्रत्येक प्रदेशमा एउटा(एउटा पम्प स्थापना गर्ने नीति अनुरूप काठमाडौँमा आफ्नै लगानीमा पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ ।
निगम आफैँले पम्प सञ्चालन गर्दा बन्द हडतालका बेलासमेत नियमित रूपमा सञ्चालन भएपछि उपभोक्तालाई सहज हुने बताइएको छ ।
पेट्रोल पम्पबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न हालसम्मकै उच्च सुरक्षा सतर्कता अपनाउने गरी पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ ।
पम्प २४ घण्टै खुला हुनेछ । उपभोक्ताले कार्डबाट तेल हाल्ने सुविधा रहने तथा पम्पमा आगलागी हुन सक्ने जोखिमलाई कम गर्न फायर हाइड्रेन्ड सिस्टम जडान गरिने बताइएको छ ।
जहाँ आगो निभाउन पानी र केमिकल मिश्रित फोम राखिने बताइएको छ । यसका साथै मेसिनबाट ग्राहक आफैँले तेल भर्न सक्ने सुविधासहितको पम्प नेपालमा पहिलो पटक स्थापना गर्न लागिएको हो ।
त्यस्तै ट्याङ्करमा ल्याएको तेल पम्पको भूमिगत ट्याङ्कीमा खसाल्दा र डिस्पेन्सिङ मेसिनबाट सवारीसाधनमा भर्दासमेत पेट्रोल, डिजेल उडेर हावामा मिसिन नदिने प्रणालीसमेत यो पम्पमा जडान हुन लागेको उहाँले जानकारी दिनुभयो ।
पम्पमा पेट्रोल र डिजेलका दुई÷दुई वटा डिस्पेन्सिङ मेसिन र डिजेल पेट्रोलका चार÷चार गरेर आठ वटा नोजल रहनेछन् । पम्पमा ४० हजार लिटर क्षमताको पानीको भण्डार राखिनेछ ।
भूमिगत ट्याङ्कीमा ४५ हजार लिटर डिजेल अटाउने तीन वटा ट्याङ्की र ६० हजार लिटर पेट्रोल अटाउने तीन वटा ट्याङ्की हुनेछन् ।
२४ घण्टा पम्प खुला हुने हुँदा बिजुलीको विकल्पमा सोलारसमेत जडान गरिनेछ ।
Categorized in राष्ट्रिय