arin enterprises

नेपालको वार्षिक जन्मदर १ प्रतिशत भन्दा कम

SamacharDesk | २०८१ बैशाख २४, सोमबार

नेपालमा वार्षिक जन्मदर ०.९२ को दरले मात्र वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित भई तयार पारेको “जनसंख्या साक्षरता तथा जनसांख्यिक सूचकहरु” सम्बन्धि पुस्तकमा नेपालको जनसंख्या दर वार्षिक १ प्रतिशत भन्दा कम रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

राजधानीमा हिजो आयोजित कार्यक्रममा तथ्यांक कार्यालयको जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले नेपालमा २ करोड ९१÷९२ लाखको हाराहारीमा जनसंख्या भएको बताउनु भयो ।

२०६८ साल र २०७८ सालको अवधिमा करिव २७ लाखको वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । त्यसमा पनि गण्डकी प्रदेशमा सवैभन्दा न्युन शून्य दशमलव २५ प्रतिशत मात्रै जन्मदर रहेको पाइएको छ ।

सवैभन्दा बढी जन्मदर लुम्विनी प्रदेशमा १ दशमलव २४ प्रतिशत रहेको छ भने मधेश प्रदेशमा १ दशमलव १९ जन्मदर देखिएको छ । यस्तै वाग्मतीमा शून्य दशमलव ९७, कोसीमा शून्य दशमलव ८६, कर्णालीमा शून्य दशमलव ७० र सुदूरपश्चिममा शून्य दशमलव ५२ प्रतिशत जन्मदर रहेको छ ।

लामिछानेले पछिल्लो ८० वर्षको ईतिहासमा सवैभन्दा कम जन्मदर रहेको तथ्यांकमा बताइएको छ । बाग्मती प्रदेशमा सबैभन्दा बढी ६१ लाख २० हजार जनसंख्या रहेको छ भने दोस्रो स्थानमा रहेको मधेस प्रदेशमा ६१ लाख १० हजार रहेको छ ।

यस्तै लुम्बिनी प्रदेशमा ५१ लाख २० हजार, कोसी प्रदेशमा ४९ लाख ६० हजार, सुदूरपश्चिम प्रदेशमा २६ लाख ९० हजार, गण्डकी प्रदेशमा २४ लाख ७० हजार र कर्णाली प्रदेशमा १६ लाख ९० हजार जनसंख्या रहेको छ ।

तथ्यांक कार्यालयका अनुसार नेपालमा आमाबुबा र छोराछोरी मात्रै रहने एकल परिवारको संख्या ६० लाख रहेको छ र एकल परिवारको संख्या सवैभन्दा बढी बाग्मती प्रदेशमा रहेको छ ।

सवैभन्दा बढी छोरी जन्माउने प्रदेश कर्णाली देखिएको छ । यस्तै नेपालमा औसत आयु ७१ दशमलव ३ वर्ष पुगेको छ । पुरुषको औसत आयु ६८ दशमलव २ पुग्दा महिलाको ७३ दशमलव ८ वर्ष रहेको छ ।

पछिल्लो समय बसाई सराईको सबैभन्दा ब्यापक प्रभाव सुदूर पश्चिममा परेको छ । सुदूर पश्चिममा पछिल्लो पाँच वर्षमा प्रति लाखमा ७ हजार ३५९ जनाले बसाई सराई गरेका छन् भने दोस्रो स्थानमा रहेको गण्डकी प्रदेशमा प्रति लाख ४ हजार २७ जना बसाईं सरेका छन् ।

सवैभन्दा कम बसाईसराई मधेश प्रदेशमा रहेको छ ।

Categorized in राष्ट्रिय