arin enterprises

नेपाल सम्वत् ११४४ सुरु

SamacharDesk – राम डंगोल | २०८० कार्तिक २८, मंगलबार

नेपाल संवत ११४४ मंगलबारदेखि सुरु भएको छ । नेपाल सम्वत् नेवार समुदायको मात्र नभएर यो सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो ।

नेपाल संवत् नयाँ वर्षको स्वागतमा नेवार समुदायले मंगलबार बिहान राजधानीको वसन्तपुरबाट सांस्कृतिक झाँकीसहित र्‍याली निकालेका छन् ।

सांस्कृतिक बाजागाजसहित नेवारी भेषभूषामा सजिएर नेवार समुदायहरुले धुमधामका साथ र्‍याली निकालिएको छ ।

र्‍याली वसन्तपुरबाट सुरु भई प्राचिन नेपालको सिमाना मरु, जैसिदेवल, लगन, वन्दे, ह्यूमत, कोहिटी, प्याफल, नरदेवी, बाँङ्गेमुढा, असन, इन्द्रचोक हुँदै पुन वसन्तपुरमा आई समापन भएको थियो ।

र्‍यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए ।

भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.स‌ं. ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो। नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो।

नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

नेपाल सम्वत् प्रवर्तक शंखधर साख्वाको नाममा नेपाल सम्वत् प्रचलनमा ल्याएको बारे विभिन्न किवंदन्ती रहेका छन् । जस अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो।

त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए। अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ।

अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो ।

ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई 'यसले अनैतिक व्यापार गरेको छ' भनी पोल लगाइदिए ।

यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो ।

राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सम्वत् चलेको भनाइ छ । 

यसैबीच नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नु नहुने बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल संवतलाई राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने भन्दै सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गरिएको जानकारी दिनुभयो ।

Categorized in राष्ट्रिय