arin enterprises

नेपाल भ्रमण दशक मनाइने

SamacharDesk | २०७९ आश्विन ९, आइतबार

विश्वभर महामारीको रुपमा फैलिएको कोभिडका कारण ठप्प जस्तै भइसकेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने भएको छ ।

होटल सङ्घ नेपाल (हान)ले आयोजना गरेको आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ-२०२२’ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको बताउनुभयो ।

पर्यटन क्षेत्रको चाडो पुनरुत्थान गर्ने लक्ष्यका साथ सरकारले भ्रमण दशक घोषणा गरेको हो। कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य गरेको छ ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्ययोजनामा भ्रमण दशक मनाउने उल्लेख छ ।

तथापि, भ्रमण दशकमा के कस्ता कार्यक्रम गरिने भन्ने अहिले खुलाइएको छैन। कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डको विवरण छ ।

यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो। तथापि, कोभिड महाकारीका कारण भ्रमण वर्ष स्थागित भएको थियो। कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र गतिशील बन्दै गएको छ ।

Categorized in राष्ट्रिय