arin enterprises

नेपालले जित्याे थ्री नेसन्स कपको उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १६, सोमबार

नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ ।

सोमबार साँझ भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले यो उपाधि जितेको हो ।

दशरथ रंगशालामा खेलिएको खेलमा नेपालले दुवै गोल पहिलो हाफमा नै गरेकाे थियाे भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो ।

नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राईले १८औं मिनेटमा गोल गरे ।उनले सुनील बलले प्रहार गरेको कर्नरलाई गोलमा परिणत गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

यो सन्जोगको पनि पहिलो अन्तराष्ट्रिय गोल हो भने नेपालले १८ महिनापछि गरेको पहिलो गोल हो ।

सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न चुकेको थियो ।

४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

संजोग राईले वान टचमा पास उपलब्ध गराएको बलमा विशालले गोल गरे । यो विशालले नेपालका लागि गरेको चौथो गोल हो ।

बंगलादेशका लागि महबुबुर रहमानले ८३ औं मिनेटमा गोल फर्काए ।

यो जितसँगै नेपाली सिनियर टिमले पाँच वर्षपछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि उचालेकाे छ ।

नेपालले यसअघि सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।

Categorized in स्पाेर्ट्स