त्रिदेशीय टी–२० सिरिजमा नेपालको क्रिर्तिमानी जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ११, शनिबार

नेपालले त्रिदेशीय टी–२० सिरिजको उपाधि जितेको छ ।
शनिबार भएको उपाधि भिडन्तमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको विशाल लक्ष्य लक्ष्य पछ्याएको नेदल्यान्ड्स १७.२ ओभर खेल्दै ९६ रनमा अलआउट भएको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले २० रन, कप्तान पिटर सीलारले १३ रन र सेबास्टियन ब्रातले नटआउट २६ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङमा नेपालका लागि करण केसीले ३ विकेट लिए । सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ विकेट भने अभिनास बोहराले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिलो ब्याटिंग गरेको नेपालले २३८ रनको विशाल योगफल बनाएको थियो ।अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सर्वाधिक स्कोरको तालिकामा नेपालको आजको योगफल २० औ संख्यामा परेको छ ।
नेपालको लागि विशाल योगफल जोड्ने क्रममा ओपनर कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले । भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्का सहित ७७ रन जोडे ।
यो उनको नेपालका लागि चौथो अर्धशतक हो । योसँगै उनी नेपालका लागि एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
त्यस्तै कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै नटआउट ५० रन जोडे । उनले २४ बलमा २ चौका र ५ प्रहार गर्दै अर्धसतक पुरा गरेका थिए ।
कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन जोड्दा ओपनिङ ब्याट्सम्यान आशिफ शेखले १६ रनको योगदान दिए ।
अन्तिममा ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ४८ रनको योगदान दिए ।
कुशल भुर्तेलले सिरिजको सर्वोत्कृष्ट खेलाडी बन्दै पल्सर एनएस मोटरसाइकल हात पारेका छन् ।
यो नेपालले रनको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित पनि हो । यसअघि नेपालले भुटानलाई १४१ रनले पराजित गरेको थियो ।
यो नेपालको टी–२० सिरिजमा अहिलेसम्मकै सर्वाधिक स्कोर हो । यसअघि भुटानविरुद्ध काठमाडौंमा भएको साग गेममा बनाएको २३६ रन बनाएको थियो ।
नेपालले सन् २०१९ पहिलो पटक टी–२० सिरिज जितेको थियो । घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २–१ ले जितेको थियो ।
साथै नेपालले आफ्नो घरेलु मैदानमा ११ वर्षपछिको घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । यसअघि नेपालले सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि जितेको थियो ।
Categorized in स्पाेर्ट्स
