arin enterprises

चलचित्र कलाकार संघको साधारण सभा सम्पन्न

SamacharDesk – बिजयरत्न | २०७८ आश्विन १६, शनिबार

नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको पेशागत छाता सङ्गठन ‘नेपाल चलचित्र कलाकार सङ्घ’ को १८ औं साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ ।

सभामा सङ्घका अध्यक्ष कलाकार रविन्द्र खड्काले आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य प्रगतिबारे प्रकाश पारेका थिए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले दशैँअघि नै नेपालभरका सिनेमाघरहरु खुल्ने बताउनुभयो ।

त्यसैगरी वरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्रकर्मीहरुको देहावसानमा समेत श्रद्धाञ्जली दिन नआउने कलाकर्मीहरुप्रति असन्तुष्टि व्यक्त गरिन् ।

कलाकार मदनदास श्रेष्ठले भने आफूलाई समस्या पर्दा मात्र सङ्घ सम्झिने अरु बेला बिर्सिने कलाकारहरुप्रति आक्रोश पोखे । त्यस्तै कलाकार कृष्ण मल्लले पनि मनगढन्ते उपाधि लिने र दिनेहरुप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

समारोहमा सङ्घका उपाध्यक्ष एवं प्रवक्ता तथा वरिष्ठ चलचित्र लेखक, निर्देशक मोहन निरौलाले कोभिडका कारण पूर्व निर्धारित समयमा साधारण सभाको आयोजना गर्न नसकिएको जानकारी गराएका थिए ।

कार्यक्रममा नेपालको पहिलो चलचित्र आमाकी आमा चैत्यदेवी सिंह, नायिका भूवन चन्दको साथै प्रथम महिला टेम्पो चालक लक्ष्मी शर्मा, चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ–संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु लगायतका चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

Categorized in पेजथ्री