arin enterprises

नेपाल एयरलाइन्सको ५ वटा जहाज लिलामीमा

SamacharDesk | २०८० पौष ५, बिहिबार

नेपाल एयरलाइन्सले आफ्ना ५ वटा जहाज लिलामीमा गर्ने सूचना जारी गरेको छ ।

विहिवार एक टेण्डर सुचना प्रकाशित गरी एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको हो ।

नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड हुदै आएको छ ।

यी जहाजहरु जस्तो अवस्थामा रहेको छ त्यस्तै अवस्थामा बेच्न लागिएको हो । बढी मूल्य जसले कबुल गर्छ, उसैले जहाज पाउने एयरलाइन्सले जनाएको छ ।

गोप्य सिलबन्दी टेन्डर आह्वान गरे अनुसार निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात आगामी २१ माघसम्म छ । निगमसँग कुल ६ वटा जहाज थिए ।

जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । निगमले बेच्न लागेको जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।

आन्तरिक उडानको प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्राउन शुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरिरहेका छन ।

साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ ।

निगमले ती जहाज नउडाउने निर्णय लिएको हो ।

Categorized in राष्ट्रिय