रहेनन् भजन शिरोमणि भक्तराज
SamacharDesk – बिराज | २०८० फाल्गुण १४, सोमबार

नेपाली संगीत जगतमा भजन शिरोमणिको उपमा पाएका गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।
लामो समयदेखि जिब्रोको क्यान्सर रोगसँग जुध्दै आएका भजन शिरोमणि आचार्यको आज सोमबार ८१ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मेडिसिटी अस्पताल लग्दै गर्दा बाटैमा उनको मृत्यु भएको बताइएको छ ।
अन्तिम श्रद्धान्जलिको लागि उनको शवलाई भोलि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।
गायक संगीतकार आचार्यले नेपाली संगीत जगतलाई मुटु जलिरहेछ, जति चोट दिन्छौ देउ मायालु, हजार आँखा हेर्ने मेरी मायालुलाई लगायतका थुप्रै चर्चित आधुनिक गीतहरु दिएका छन् ।
साथै एकदिन मैले प्रभुसँग सोधें, तन मन वचनले, सब निदाए प्रभु लगायतका चर्चित भजन पनि उनले गाएका छन् ।
वि.सं. १९९९ असोज १६ गते बुबा बलभद्र र आमा रेनुकाको कोखबाट उनको जन्म भएको थियो । उनका दुई छोरा सत्यराज र स्वरुप राज पनि अहिलेका चर्चित गायक हुन् ।
उनैको जीवनिमा आधारित भई चलचित्र ‘आचार्य’ पनि निर्माण भएको छ । उक्त चलचित्रमा भक्तराजको भूमिकामा उनैका छोरा सत्यराजले अभिनय गरेका थिए ।
Categorized in पेजथ्री