एसिसि महिला टी–२० च्याम्पियसिपमा नेपालको विजयी शुरुवात
SamacharDesk | २०७९ आषाढ ३, शुक्रबार

मलेसियामा शुक्रवारबाट शुरु भएको एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी शुरुवात गरेको छ ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन जोड्दा नेपालले ५० रनको जित निकालेको हो ।
मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भुटानका लागि छिरिङ जान्गमोले सर्वाधिक १६ रनकोे पारी खेल्दा एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन योगदान गरिन् । पेमा सोल्डेनले ४ रन जोड्दा पाँच खेलाडीले मात्र समान १ रन जोडेका थिए ।
भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिईन । यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सिता राना मगर र इन्दु वर्माले १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयारी पारेको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले २१ रन जोडिन् भने डोलीभट्टले ५ रन बनाइन् ।
सीता मगरले ४, ममता चौधरीले ३, विन्दु रावलले १ तथाअश्मिनाकर्माचार्य र ज्योती पाण्डे शुन्य रनमा आउट भए । कविताकुँवर १ रनमा अविजित रहिन् । बलिङतर्फ भुटानकी सोनम पाल्डोनले ४ तथा अञ्जु गुरुङ र टासी छेकीले १÷१ विकेट लिए ।
च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग शनिवार खेल्नेछ । यस्तै नेपालले सोमवार बहराइन र अन्तिम खेलमा मंगलवार हङकङसँग खेल्नेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह बी मा छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।
यस्तै समूह ए मामलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एशिया कप क्रिकेटमा छनोट हुनेछ ।
Categorized in स्पाेर्ट्स