arin enterprises

नृत्यसम्वन्धी नेपालकै पहिलो कार्यशाला आजबाट ठिमीमा शुरु

SamacharDesk – बिराज | २०७७ चैत्र ३, मंगलबार

सोरठी नृत्यको कार्यशाला गोष्ठी आजबाट भक्तपुरमा शुरु हुन लागेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नृत्य निर्देशक संघ नेपालले आजबाट दुई दिने सोरठी नृत्य सम्वन्धी कार्यशाला गोष्ठी शुरु गर्न लागेको हो ।

मध्यपुर थिमिको शंखधर चोकस्थित ठिमी ब्यांक्वेटमा आज कार्यशालाको औपचारिक उद्घाटन गरिँदैछ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माबाट कार्यशालाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

औपचारिक उद्घाटन कार्यक्रमपछि संस्कृतिविद्  डा. मीन श्रीस मगर, नृत्य निर्देशक तथा अन्वेषक रोचक थापा, अनुसन्धाता डा. मोती लाल पराजुलि, नृत्य निर्देशक प्रेम लोप्चन, के.पी. पौडेल, पूर्ण नेपालीको साथै भैरव बहादुर थापा, लोक वाद्यवादन विशेषज्ञ खड्ग बुढा मगर लगायतबाट सोरठी नृत्यका विभिन्न पक्षका सैद्धान्तिक विषयवस्तुबारे ज्ञान दिइनेछ ।

संघले यस कार्यशाला गोष्ठीलाई नृत्य विधामै नेपालकै पहिलो कार्यशाला भनी दावी गरेको छ । कार्यशालामा सोरठी नृत्यको नाच, ताल र भेषभूषाको बारेमा सैद्धान्तिक साथै प्रयोगात्मक ज्ञानसमेत दिइने संघका अध्यक्ष भुवनदास श्रेष्ठले बताए ।

‘नृत्य भनेपछि नाच्ने मात्र होइन, यसमा भाव, अभिनय, मुद्रा, भेषभुषादेखि लिएर अनेक पक्षहरुको बारे ध्यान दिनुपर्छ, नृत्य गर्ने नृत्यकारको साथै नृत्य गुरुहरुले समेत नृत्यको बारे प्राज्ञिक चिन्तन थालोस् भनेर कार्यशालाको आयोजना गरेका हौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

कार्यशालाको औपचारिक समापन भोलि गरिनेछ ।

Categorized in पेजथ्री
SKIP THIS tihar2082