arin enterprises

‘विना विकल्प निजी स्कुललाई सामुदायिक गुठीमा लग्ने कुरा अव्यवहारिक’

SamacharDesk – बिराज | २०८० माघ २६, शुक्रबार

सरकारले उचित विकल्प, मुआब्जा वा रोजगारीको ग्यारेन्टी गरे निजी स्कूललाई सामुदायिक गुठीमा लग्ने निर्णय सान्दर्भिक हुने सरोकारवालाहरुले बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले सुरुमा लगानी गर्न दिने र पछि आएर तिमीहरुको सबै सम्पत्ति अब सरकारको भयो भन्न नमिल्ने भनेका हुन् ।

काठमाडौंको ताम्सीपाखा विष्णुमति लिंकरोडस्थित न्यू जेनिथ इङलिस मोडल स्कूलको रजत जयन्ती समारोहको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै स्कूलका प्रिन्सिपल राजु महर्जनले कोभिड महामारीको बेलामा स्कूल नै बन्द गर्नुपर्ने हो कि भन्ने स्थिती भएकोमा अहिले आएर सरकारले विना कुनै योजना निजी स्कूललाई सामुदायिक गुठीमा लग्ने कुरा गर्न व्यवहारिक नभएको बताए ।

‘कोभिड लगायत विभिन्न परिस्थितीको सामना गरी संघर्ष गर्दै अघि बढिरहेका छौं । हरेक नीजि स्कूललाई चर्को शुल्क लिने भनेर सोचेर मिल्दैन । मुआब्जा, विकल्प, रोजगारी आदिको केही कुरा नगरी सरकारले यस्तो कुरा गर्नु ठिक होइन’ महर्जनले भने ।

आउँदो माघ २८ गते आइतवार न्यू जेनिथले आफ्नो रजत जयन्तीको अवसरमा काठमाडौंको प्रज्ञा भवनमा कार्यक्रमको आयोजना गर्दैछ ।

कार्यक्रममा विद्यार्थीहरुबाट अर्केष्ट्रा प्रस्तुति, म्यूजिकमा आधारित तेक्वान्डो शो, नृत्य, गीत आदिको प्रस्तुति रहने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

सोही कार्यक्रममा प्रिन्सिपल महर्जबाट लिखित ‘सानो सफलतामा धेरै रमाउने मान्छे, A Blissufl Man in Petite Success‘ को विमोचन गरिन लागिएको छ ।

‘मास्टरले लेखेको किताब हेर्दा मास्टरहरुकै लागि मात्र जस्तो देखिएला । तर, यो किताबले सानो सानो सफलतामा पनि खुसी खोज्न जान्नुपर्छ भन्ने सन्देश दिएको छ । सकारात्मक सोच प्रवाह गर्न सबैको लागि मैले यो किताब लेखेको हो’ महर्जनले भने ।

वि.सं. २०५६ सालमा वाफलस्थित जेनिथ इङलिस सेकेन्डरी स्कूलको प्राइमरी ब्लकको रुपमा न्यू जेनिथ स्कूलको शुरुवात भएको थियो । हाल यो स्कूलले १२ कक्षासम्म पढाउँदै आएको छ भने ९५० भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् ।

न्यून शुल्कको साथमा आवश्यक परेका विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको र विभिन्न सामाजिक कार्यमा पनि संलग्न रहँदै आएको स्कूल सामाजिक क्षेत्रमा समेत अब्बल रहेको स्कूलको दावी छ ।

Categorized in समाज