नेवाः समुदायहरु लक्ष्मी पूजा मनाईंदै
SamacharDesk | २०८१ कार्तिक १६, शुक्रबार

तिहारको आज चौथो कात्तिक कृष्ण औंसी ।
तिथिमा भएको घटबटका कारण आजको दिन यमपञ्चकको कुनै पनि विधि परेको छैन । आजको दिन लक्ष्मीपूजा र गोवर्धनपूजाको बिचमा परेकोले कुनै पनि तिहारको तिथि नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
तर यता नेवार समुदायमा भने तिहार पर्वमा कुनै पनि दिन खाली बस्न नहुने मान्यता भएकोले आज साँझ धनधान्यकी देवी लक्ष्मीदेवीको पूजाआजा गरी घरघरमा भित्र्याईदैछ ।
लक्ष्मीपुजाका लागि घर आगन सफासुग्घर गर्ने, लिपपोत गर्ने क्रम चलिरहेको छ । सफासुग्घर गरेको घरमा दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने चलन रहेको छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, संघार, कौसी, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
सरकारले आज पनि तिहारको विदा भने दिएको छ । हिजो कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन गरिएको छ । । सनातन धर्मावलम्वीहरुले हरेक वर्ष कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने गर्दछन् ।
यस तिथिमा कुकुर पुजा गर्नाले यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
धर्मराज युधिष्ठिरलाई समेत स्वर्गको यात्रामा साथ दिएको धार्मिक विश्वास छ । भोलि गोवर्धन पूजा, गाइगोरु पूजा र हलि तिहार मनाइदैछ । नेवार समुदायको महत्वपूर्ण म्हपूजा पनि भोलि नैं परेको छ ।
पर्सि आइतवार भाइटिका मनाइदैछ । यो वर्ष भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको पञ्चांक निर्णायक विकास समितिले जनाएको छ ।
Categorized in संस्कृति