नेवाः पत्रकार राष्ट्रिय दबूको चौथौं महाधिवेशनबाट १९ सदस्यीय कार्यसमितिसहित अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ चयन
SamacharDesk – राम डंगोल | २०७९ पौष २४, आइतबार

नेवाः पत्रकार राष्ट्रिय दबूको चौथौं महाधिवेशन सम्पन्न भएको छ । नृपेन्द्रलाल श्रेष्ठ नेतृत्वको १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै हिजो ललितपुरको ज्वागलमा सम्पन्न भएको छ ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्षहरु रचना श्रेष्ठ, संदिप श्रेष्ठ, महासचिव के के मानन्धर, सचिव राजु नापित, कोषाध्यक्ष बाबुकाजी साःछेँ श्रेष्ठलगायतका पदाधिकारीहरु निर्विरोध चयन भएका छन् ।
संस्थाको विधान अनुसार लेखा समितिका संयोजकमा विगेन तुलाधर सर्वसम्मत चयन हुनुभएको छ । कार्यक्रममा मुख्य अतिथि उपप्रधानमन्त्री एवं भौतिक योजना तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ रहनु भएको थियो ।
सो अवसरमा आप्mनो मन्तव्य राख्दै मुख्य अतिथि तथा उपप्रधानमन्त्री श्रेष्ठले जातीय विविधतालाई सम्बोधन गर्दै सामाजिक न्याय स्थापित गर्न पत्रकारहरु संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले समावेशी पत्रकारिताको विकास र मातृभाषा पत्रकारिताको विकासमा आफ्नो पनि ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले आन्दोलनमार्फत प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबैजना जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकारितामार्फत सूचना सम्प्रेषण गरी आम जनताको हकहितको सवालमा क्रियाशील रहेका पत्रकार सरस्वती कर्माचार्यलाई देवशोभा कंसाकारबाट स्थापित लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उहाँलाई २० हजार नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी समाजसेवी मोतिशान्ति शाक्यले स्थापित ज्ञानदेवी–मणिरत्न पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार नरेशवीर शाक्यलार्य, भिक्षु कुमारकाश्यप महास्थवीरको नामबाट भिक्षु कौण्डन्यंबाट स्थापित भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार अनुशा बज्राचार्यलाई, बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार सुरेश ख्वाखः श्रेष्ठ, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार सूर्यप्रसाद लाकोजु र श्रीराम स्मृति पत्रकारिता पुरस्कार सुरेश श्रेष्ठलाई प्रदान गरिएको छ ।
सो अवसरमा समाचारडेस्कका प्रतिनिधिसँग संक्षिप्त कुराकानी गर्दै नवनिर्वाचित महासचिवले के के मानन्धरले आगामी कार्यकालमा अझ सशक्त ढंगले नेवाः पत्रकारहरुको उत्थानमा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
साथै उहाँले देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूको पुस २३ गते शनिबार सम्पन्न भएको चौंथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय महासचिव जस्तो जिम्मेवार पदमा निर्विरोध निर्वाचित गराउनु भएकोमा समग्र टिमप्रति आभार व्यक्त गर्नुभएको छ ।
समाचारडेक्सले सोधिएको आगामी कार्यकाल कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, आगामी तीन वर्षको लागि महासचिव जस्तो पदमा बहालीसँगै थप कर्तव्यबोध भएको छ, तीन वर्षे कार्यकालमा सबैको साथ र सहकार्य रहने आशा गर्दछु । संस्थालाई सदृढ बनाउँदै पत्रकारहरूको हकअधिकार, समावेशी पत्रकारिता, मातृभाषा पत्रकारिता र राष्ट्रियताको सवालमा काम गर्ने प्रेरणा मिलेको छ ।
हुन त नयाँ नेतृत्वसँगै नयाँ कार्यनीति आउला । नवनिर्वाचित अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सबैको भावना समेटेर साझा कार्यक्रम पनि सार्वजनिक गर्ला । म महासचिवको नाताले आगामी कार्यकालमा बुँदागत रूपमा भन्नुपर्दा ५ वटा विषयमा ध्यान दिनेछु ।
१) संस्थालाई सदृढ बनाएर देशभरका सबै नेवार पत्रकारलाई नेवाः पत्रकार राष्ट्रिय दबूमा अटाउने व्यवस्थाको लागि पहल गर्नेछु । त्यसको लागि नेपालको संघीय संरचना अनुकूल संस्थाको संरचनालाई ढाल्ने ।जसरी अहिले २९ जिल्ला शाखामा पत्रकार राष्ट्रिय दबूको शाखा बिस्तार भइसकेको सन्दर्भमा उनीहरूलाई व्यवस्थित बनाएर थप जिल्ला शाखा समेत निर्माण गरेर सातै प्रदेशमा संरचना बनाउने।
२) मातृभाषाको पत्रकारिता विकास गर्ने क्षेत्रमा काम गर्ने । योसँगै नेपालमा बोलिने आदिवासी जनजाति मध्येकै सबसे पहिलो मातृभाषी पत्रकार जगतमान वैद्य (धर्मादित्य धर्माचार्य) लाई सरकारी स्तरबाट स्थापित गराउने ।
३) समावेशी पत्रकारिताको लागि काम गर्ने । समावेशी पत्रकारिताका विभिन्न तहहरू छन् । जसरी न्यूज डेस्कमा सामुदायिक रूपमा सहभागिता, भौगोलिक आधारले पहुँच, भाषिक रूपमा संलग्नता तथा न्यूज कन्टेन्टको सन्तुलन बनाउनको लागि क्षमता अभिवृद्धि र व्यक्तित्व विकासको आवश्यकता रहन्छ, त्यसमा विशेष ध्यान दिने र पहल गर्ने ।
४) नेपालमा पत्रकारिता पूर्ण व्यावसायिक भइ नसकेको अवस्थामा मातृभाषी पत्रकारको सवाल झन् जर्जर हुने स्वभाविक छ । योसँगै उत्पन्न हुने सञ्चारकर्मीहरूको हकअधिकारको समस्यादेखि यावत समस्यालाई सम्बोधन गराउने क्षेत्रमा पहल गर्ने ।
५) २००८ सालमा नेपाल पत्रकार संघ गठन गरेर सबभन्दा पहिले नेपाली पत्रकारहरूलाई संगठित गरेका सत्यनारायण बहादुर श्रेष्ठको मुद्दा स्थापित गराउने क्षेत्रमा पहल गर्ने बताउनुभयो ।
अध्यक्ष सुरजवीर बज्राचार्यको अध्यक्षतामा सुरु भएको महाधिवेशनमा नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, मधेश पत्रकार समाज, राष्ट्रिय दलित पत्रकार संघ, काठमाडौं महानगरपालिका, प्रेस काउन्सिल नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यस्तै पूर्वी नेपालको झापादेखि पश्चिमका कञ्चनपुरसम्मका नेवाः पत्रकारहरुको सहभागिता रहेको थियो ।
Categorized in राष्ट्रिय