arin enterprises

पानीको मुहान सफा गरेर सिथिनखः मनाईँदै

SamacharDesk – विकाश | २०७७ जेठ १५, बिहिबार

आज जेष्ठ शुक्ल षष्ठी, नेवार समुदायमा आज सिथिनखः पर्व मनाईँदैछ । यो पर्वलाई पानीको मुहान संरक्षण र पानीको महत्व दर्शाउने दिनको रुपमा लिन सकिन्छ । 

आजको दिन विशेष गरी ईनार, पोखरी, कुवा आदि लगायतका पानीको श्रोतको सरसफाइ गरी यो पर्व मनाइन्छ । 

प्रचण्ड गर्मीपछि पानीको सतह पूरै घट्ने हुँदा इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने गर्दछ । पानीको श्रोतको सरसफाइ गरिसकेर त्यहाँ पूजा गर्ने गरिन्छ ।

सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिनसम्म चलाउन नहुने परम्परा रहेको छ । चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ । 

पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिएको देखिन्छ ।

सिथि नखः लिच्छविकालदेखि नै पानीको मुहान, ढुंगेधारा, इनार, घर, चोक, नालीको सरसफाइ गर्ने पर्वका रूपमा विकास भएको देखिन्छ ।

सिथि नखःका दिन मुहान सफा गर्यो भने वर्षभरि पानीको अभाव नहुने जनविश्वास समाजमा रहेको छ । 

उपत्यकाका खेतहरुमा अचेल लहलहै धानका बालाको साटो क्रंक्रिटका भवनहरु ठडिन थालेको छ । खुल्ला ठाउँको अभावको साथमा अनियन्त्रित रुपमा जनघनत्व बढ्दै गएको छ ।

जतिसुकै धेरै वर्षा भएतापनि वरपर मुहानले पानी सोस्न नपाउने भएको छ । फलस्वरुप यहाँका पानीका श्रोतहरु सुकेर खानेपानी समेतको समस्याले विकराल रुप लिँदैछ ।

यस्तो अवस्थामा सिथिनखः पर्वको महत्व झन बढेको छ ।

 

कुमार कार्तिकेयको जन्मदिन कुमार षष्ठी

आजको दिनलाई भगवान शिव र गंगाका पुत्र कुमार कार्तिकेयको जन्मदिनको रुपमा पनि लिइन्छ । त्यसैले आजको दिनलाई कुमार षष्ठी पनि भन्ने गरिन्छ ।

सिथिनखःमा काठमाडौको जैसिदेवलस्थित कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन पहिर्याउँदै गहना र आभुषण लगाईदिएर खटमा राखेर नगर परिक्रमा गराईने चलन छ ।

नेवाः समुदायले आफ्नो घर प्रवेश द्वारमा ढुङ्गा, ईँट्टा अथवा धातुमा कमलको फूल कुँदेर राख्ने चलन छ । यसलाई कुमार कार्तिकेयको प्रतीकको रुपमा लिइन्छ । 

सिथिनखःमा यस कमलरुपी कुमारलाई विधिपूर्वक पूजा गर्ने गरिन्छ ।

कुमारलाई भगवान शिवजी र गंगाको पुत्रको रुपमा लिइन्छ । यसरी कुमारको सम्वन्ध पनि पानीसँग रहेको देखिन्छ ।

पछिल्लो समय सिथिनखःको दिनलाई पानी दिवसको रुपमा पनि मनाउन थालिएको छ । आजको दिनमा पानीको श्रोत सफा गर्नेदेखि लिएर शारिरीक सरसफाइतर्फ जनचेतना जगाउनका लागि हात धुने कार्यक्रमहरु समेत हुन थालेका छन् । 

कोरोना महामारीसँग बच्न साबुन पानीले मिचिमिचि हात धुनुपर्ने आजको अवस्थाले हाम्रो सँस्कृतिमा रहेको वैज्ञानिक दर्शनलाई झन प्रष्ट्याएको छ ।

हरेक नेवार परम्पराहरु कुनै न कुनै खाद्य पदार्थसँग जोडिएकै हुन्छ । कुनै पर्वमा समयबजि खाने गरिन्छ छ कुनै पर्वमा ग्वार्चा, खीर आदि ।

सिथिनखःमा भने मास वा मुँगीको वःको साथमा चतांमरि बनाएर खाने चलन रहेको छ । 

सिथिनखः पर्व आएपछि असार अर्थात् रोपाइँ सुरु भयो भन्ने मान्यता छ । यसै रोपाइँका लागि शरीर बलियो होस् भनी यस्ता खानेकुरा पकाएर खाने गरेको मान्यता पनि छ ।

यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्याज्या (धान रोपाइँ) शुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ ।

यस वर्ष कोरोना महामारी नियन्त्रण र रोकथामको लागि देशैभर लकडाउन जारी रहेको र सतर्कता अपनाउनुपर्ने अवस्थामा सबैले घरघरमै बसेर साधारण तरिकाले सिथिनखः मनाएका छन् ।

विगतमा जस्तो औपचारिक कार्यक्रमभन्दा पनि टोलकै सानो समूह मिलेर कुवा, ईनार आदि सफा गर्ने र घरमै साधारण पूजा गरी वः, चतांमरि पकाएर खाँदै यस वर्ष सिथिनखः मनाइएको छ ।

Categorized in संस्कृति