नेटिभिमा नेपालभाषा समाचार सुरुआत भएकोमा नेवाः पत्रकार हर्षित
SamacharDesk – बिराज | २०८१ कार्तिक १, बिहिबार

आतनेवाः पत्रकार राष्ट्रिय दबूले बहुजातीय, बहुभाषिक र बहुसांस्कृति विविधताले भरिएको नेपालमा विविध भाषाको माध्यमबाटै समाचार प्रकाशन र प्रसारण गरिनु समावेशी सञ्चारमाध्यमको आयाम भएको बताएको छ ।
नेपाल टेलिभिजनबाट नेपालभाषाको समाचार प्रसारण हुनुको साथमा राष्ट्रिय समाचार समितिबाट नेपालभाषाको साथै मैथिलि भाषामा न्यूज बुलेटिन प्रकाशन भएको सन्दर्भमा प्रेश विज्ञप्ती जारी गर्दै पत्रकार राष्ट्रिय दबूले यस्तो बताएको हो ।
प्रेश विज्ञप्ती जारी गर्दै पत्रकार दबूले नेपाल टेलिभिजनबाट नेपालभाषाबाट समाचार प्रसारण भएकोमा देशैभरीका नेवार पत्रकारहरुको राष्ट्रिय संगठन दबू निकै हर्षित भएको बताएको हो ।
दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठबाट जारी विज्ञप्तीमा नेपालभाषाको पत्रकारिता सुरुआत भएको सय वर्ष पुगेको अवसरमा मातृभाषा शताब्दी वर्ष र संयुक्त राष्ट्र संघले भाषा दशक मनाइरहेको सन्दर्भमा सो कार्य थप महत्व उजागर भएको बताइएको छ ।
‘नेपालको संविधानको धारा ६ मा नेपालमा बोलिने सबै भाषाहरु राष्ट्रभाषा हुन् भनेर भनिएको छ । नेपाल टेलिभिजनले हरेक प्रदेशमा बाहुल्य रहेको दुई÷दुई वटा भाषामा समाचार प्रसारण गर्ने लक्ष्य लिएर त्यसको क्रमशः कार्यान्वयन गर्नुले संविधानको सो मर्म र भावनाको व्यवहारिक अनुवाद रहेको यस संस्थाको ठहर रहेको छ’ विज्ञप्तीमा लेखिएको छ ।
सोही विज्ञप्तीमार्फत दबूले दबूसँगै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), मधेसी पत्रकार समाज लगायतले यस विषयमा सम्वन्धित निकाय, सरोकारवालाहरुमा सदैव ध्यानाकर्षण गर्दै आएको पनि स्मरण गराएको छ ।
नेपाल टेलिभिजनले हिजो (असोज ३०) बुधबारबाट नेपालभाषाको न्यूज बुलेटिन प्रसारण सुरु गरेको हो । हिजो सूचना तथा संचार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिभिजनमा नेपालभाषा न्यूज बुलेटिनको शुभारम्भ गरेका थिए ।
सो अवसरमा मन्त्री गुरुङले सरकारी संचारमाध्यममा सुरु गरिएको भाषिक कार्यक्रमले समग्र समुदायलाई सरकारी संचारमाध्यमप्रति अपनत्व महसूस गराउने विचार राखेका थिए ।
कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्याल, नेपाल टेलिभिजनका अध्यक्ष समीरजंग शाह, लगायतले नेपालको विविध भाषा, संस्कृतिको संरक्षणमा प्रयत्नशील रहिरहने बताएका थिए ।
कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, फोनिजका अध्यक्ष गजुरधन राई र पत्रकार दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिती थियो ।
यस अघि गत असोज २९ गतेबाट राष्ट्रिय समाचार समितिले पनि नेपालभाषाको साथमा मैथिलि भाषाबाट न्यूज बुलेटिनको सुरुआत गरिसकेको छ ।
Categorized in राष्ट्रिय