arin enterprises

जनप्रतिनिधिबाटै पत्रकारलाई आक्रमण भएकोमा पत्रकार दबूबाट भत्सर्ना

SamacharDesk – विकाश | २०७७ आषाढ १२, शुक्रबार

नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको असार १० गते सम्पन्न गाउँसभामा गाउँसभा अध्यक्षबाटै पत्रकारहरुलाई आक्रमणको प्रयास भएकोमा नेवाः पत्रकार राष्ट्रिय दबूले भत्सर्ना गरेको छ ।

पत्रकार दबूले प्रेस विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रताको संरक्षणमा सक्रिय हुनुपर्ने स्थानीय तह र जनप्रतिनिधिबाटै पत्रकारलाई दुव्र्यवहार भएकोमा दबूको ध्यानाकर्षण भएको जनाएको छ ।

गत असार १० गते गाउँपालिकाको गाउँसभामा दबूका सदस्य त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठको साथमा मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारी र टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीलाई आक्रमणको प्रयास भएको थियो ।

गाउँपालिका अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्दा जनप्रतिनिधिहरुबाटै संचारकर्मीलाई आक्रमणका प्रयास हुनुका साथै क्यामेरा र सवारी साधन समेत खोसेर तोडफोड भएको थियो ।

असुरक्षाकै कारणले आफ्नो मोटरसाइकल घटनास्थलमै छोडेर प्रहरीको सवारीमा विदुर फर्कनुपरेको मिक्स एफएम प्रमुख भण्डारीले बताएका छन् ।

दबूले विज्ञप्तीमार्फत जनप्रतिनिधिबाटै यसरी पत्रकारलाई भएको आक्रमणको घटनाले पत्रकारीता क्षेत्रमा संरक्षण र प्रोत्साहन गर्नुपर्ने व्यक्तिहरुबाटै जोखिम बढेको जनाएको छ ।

दबूले घटनामा तारकेश्वर गाउँपालिका १ का वडाध्यक्ष दयानिधि अधिकारी, वडा ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङको संलग्नता रहेको जनाएको छ ।

यो घटना प्रेस स्वतन्त्रताको लागि कालो धब्बा बनेको भन्दै दबूले दोषिमाथि कारवाही गरिनुका साथै क्षतिपुर्तिको समेत माग गरको छ । 

साथै महामारीको अवस्थामा ज्यानको समेत पर्वाह नगरी क्रियाशील रहेका पत्रकारहरुलाई निरुत्साहित गर्ने यस प्रकारका घटना नदोहोरिनेप्रति सबै प्रतिवद्ध भइदिन पनि दबूले अपिल गरेको छ ।

Categorized in राष्ट्रिय