नेवाः समुदायहरु आज लक्ष्मीपूजा मनाउँदै
SamacharDesk – Ram Dangol | २०८० कार्तिक २७, सोमबार

काठमाडौंका नेवार समुदायले यमपञ्चकको तेस्रो दिनको रुपमा लक्ष्मी पूजा मनाएका छन् ।
स्वन्ति नखःका रुपमा मनाउने तिहारमा धनकुवेर र सेतो ख्याक सहितको कछुवा बाहन लक्ष्मीको हातले बनाएको चित्रमा लक्ष्मी पूजा गर्ने चलन रहेको छ ।
लक्ष्मीलाई महाशक्तिकै रुपमा महालक्ष्मीलाई तान्त्रिक रुपमा पनि पूजा गर्ने गरिन्छ । दशैंमा तलेजु भवानीलाई चढाएर बाँकी रहेको बलिको प्रसाद समेत महालक्ष्मीलाई चढाउने गरिन्छ ।
साथै वज्रयानी बौद्ध धमावलम्बिहरुले धन आर्जनको देवता जांभलासहित धनधान्यकी देवी बसुधाराको भकारीमा राखेर पूजा गर्ने गर्दछन् ।
आज विशेष रुपमा कस्तूरी राखेको बट्टा लक्ष्मी रहेको कोठामा खोलेर सुगन्धित बनाउने र लक्ष्मी धूपबालेर पूजा गरेको पारिवारिक सुख, सम्बृद्धि, धनसम्पति बृद्धि हुने विश्वास रहेको छ ।
ललितपुर र भक्तपुरका नेवार समुदायले भने आज म्हःपूजा गर्दैछन् । हिजो नै लक्ष्मी पूजा गरेका उनीहरुले आज साँझ म्हःपूजा गर्ने भएका हुन् ।
यता पात्रो अनुसार तिहार मनाउनेहरु भने गाई पूजा मनाएका छन् । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजा गरेका हुन् ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
आजका दिन नेपालीहरुको घर गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
Categorized in संस्कृति