arin enterprises

‘नेवाः समुदायका परम्परागत मुकुण्डोनाच’ लोकार्पण

SamacharDesk – राजेश बज्राचार्य | २०८३ जेठ ४, सोमबार

नृत्यकलाविद वीणा जोशी (राजभण्डारी) को कृति ‘नेवार समुदायको परम्परागत मकुन्डोनाच’ पुस्तक सार्वजनिक गरिएको छ ।

आइतबार काठमाडौँमा यल नेवाः समाजको आयोजनामा सम्पन्न कार्यक्रममा उक्त पुस्तकको लोकर्पण गरिएको हो ।

लेखककी सय वर्षीया आमा गङ्गादेवी राजभण्डारीसँगै उपत्यकाका बिभिन्न जातिका परम्परागत नृत्यकलाका १५ जना गुरुहरुबाट संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै लेखक जोशीले शुरुमा नेपालभरका सबै जातजातिको अनुसन्धान गर्ने योजना बनाएको तर त्यो सम्भव नभएपछि कमसेकम नेवाः समुदायको मकुन्डो नाचको अध्ययनलाई केन्द्रित गरेको बताउनुभयो ।

‘नेवाः समुदायको नृत्य परम्परा केवल मनोरञ्जनकालागि मात्र नभै सभ्यताको ईतिहास, समुदायको आस्था, श्रद्धा समेटिएको जीवित सांस्कृतिक सम्पदा हो । यसमा कला, मिथक, धर्म र सामुदायिक जीवन एकसाथ जोडिएको पाएँ’ जोशीले भनिन् ।

८१ वर्षिया लेखक जोशीको लगनशीलता, नृत्यकला सम्वन्धि एतिहासिक र व्यवहारिक सामाजिक पक्षको सोधखोजमा सक्रियताको चर्चा गर्दै संस्कृति शिरोमणि हरिराम जोशी, नृत्यकला तथा चर्यानृत्यविद यज्ञमानपति बज्राचार्य र प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीले पुस्तकको समीक्षासहित आआफ्ना विचार राखे ।

पुस्तकमा नेवाः समुदायका मुकुण्डो नाचहरु इतिहास, रङ्गभूमि, रङ्गकर्मी लगायत विभिन्न पक्षहरुलाई १७ विधामा विभाजित गरी प्रस्तुत गरिएको छ ।

यल नेवाः समाजका अध्यक्ष नानुकाजी शाक्यले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षणमा संस्था सक्रिय रहँदै आएको बताउँदै सोही क्रममा यो पुस्तक प्रकाशनमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा प्रतिष्ठित वाद्यवादक टोली सहित नृत्य कलाकारहरुले नेवाः समुदायको आर्यावलोकितेश्वर र बज्रयोगिनी चर्यानृत्य, भैल प्याखँ र नागाचा प्याखं नृत्य प्रस्तुत गरेका थिए ।

पुस्तकको लेखक जोशी २०२३ सालदेखि नेपालको मुकुण्डोनाच लगायतका नृत्य संस्कृतिको अनुसन्धानमा सक्रिया रहँदै आएकी छिन् ।

Categorized in पेजथ्री