न्यूरोडको फुटपाथ बढाउने काम पुनः सुरु
SamacharDesk | २०८१ श्रावण २, बुधबार

काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ ।
उच्च अदालत पाटनले न्यूरोडको फुटपाथ विस्तारमा परेको रिट निवेदनमा काठमाडौं महानगरपालिकाको पक्षमा पैmसला गरेपछि महानगरपालिकाले बुधबार विहानदेखि पुनः काम सुरु गरेको छ ।
महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि काम सुचारु गर्ने बाटो खुलेको हो ।
महानगरपालिकाले फुटपाथ विस्तारका लागि शुक्रपथमा सडक काट्न थालेपछि सडक विभाग अन्तर्गतको डिभिजन कार्यालयले हस्तक्षेप गरी काटेको सडक तत्काल पिच गरेको थियो ।
सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दिएको थियो ।
यसअघि सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रूपमा हस्तक्षेप गरेको थियो ।
रिट निवेदनमा महानगरपालिकाले, आफ्नो क्षेत्रभित्रको वडा नं. २२, २३ र २४ अन्तर्गत पर्ने न्यूरोड बजार क्षेत्रमा आ. व. २०८०/८१ को आर्थिक बजेटबाट फुटपाथ विस्तार गर्ने योजना अनुरुपको कार्य सञ्चालन गर्ने सन्दर्भमा विपक्षी सडक डिभिजन कार्यालयले मिति २०८१ जेठ १२ बाट अवरोध सृजना गरी सडक पेटी निर्माण गर्न नदिने व्यहोराको पत्राचार एवं भौतिक रुपमा हस्तक्षेप गरेको उल्लेख गर्दै उपचारको र तत्काल अन्तरिम आदेश माग गरेको थियो ।
उच्च अदालतलको सो आदेशले महानगरलाई फुटपाथ चौडा गर्न बाटो खुलेको छ । सोही अनुरुप महानगरले व्यस्त बजारलाई ध्यानमा राखी चाँडो भन्दा चाँडो काम सम्पन्न गर्ने ढंगले बुधबार विहानैदेखि जोडतोडले काम भइरहेको जनाइएको छ ।
यता २२ वडाका अध्यक्ष चिनिकाजी महर्जनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीयवासी र सम्बन्धित वडाध्यहरुसँग सल्लाह तथा छलफल नै नगरी एकलौटी ढंगले न्यूरोडको बाटो साँघुरो बनाउन लागिपरेको आरोप लगाएको छ । उहाँले नगरपरिषदको बैठकमा मेयर बालेनले नयाँ सडकको काम सहमति अनुरुप गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप गर्ने बताएको बताउनुभयो ।अदालतको जुनसुकै पैmसला आए पनि नगर परिषदका सदस्यहरुसँग सल्लाह तथा छलफल गरी गर्ने सहमति भएको तर आज आएर सहमतिको उल्लंघन गर्दै न्यूरोडको बाटो फेरि साँघुरो बनाई फुटपाथ बढाउने काम सुरु गरेको आरोप लगाएको छ ।
Categorized in स्थानीय