न्यूरोडको फुटपाथ निर्माणमा स्थानीयको विरोध
SamacharDesk | २०८१ श्रावण ४, शुक्रबार

काठमाडौं महानगरपालिकाले पुनः निर्माण सुरु गरेको काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयले अवरोध सिर्जना गरेको छ ।
काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु गरिरहेको छ । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि नेपाल प्रहरी र नगरप्रहरी तैनाथ गरी सुरक्षा व्यवस्था कडा पारीएको छ ।
पाटन उच्च अदालतले फुटपाथ निर्माण गर्न अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि नै सडक विभागले पिच गरेको फुटाएर धमाधम काम सुचारु गरेको थियो ।
सडक पेटी विस्तार गर्न नपाउने भन्दै स्थानीयवासीले शुक्रबार बिहान नयाँ सडक क्षेत्रमा विरोध जनाएका छन् । अदालतको आदेशलाई समेत बेवास्ता गर्दै स्थानीयवासीले विरोध जनाएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता अघि बढाएको थियो ।
महानगरले भने अदालतको आदेश दिएकाले सडकको दुवैतर्फ ३ फिटको दरले पेटी विस्तार गर्ने कार्य अघि बढाएको जनाएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो ।
सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो ।
फुटपाथ बिस्तारको काममा २४ नम्बर वडामा धमाधम भई रहे पनि २२ वडामा भने बिरोध गरिएको छ ।
Categorized in स्थानीय