arin enterprises

१२ वर्षे ङ्यतभुलु अजिमा अर्थात् श्वेतकाली नाच तलेजु डबलीमा नचाइयो

SamacharDesk – राम डंगोल | २०७९ कार्तिक २, बुधबार

प्रत्येक १२ वर्षमा नचाईने ङ्यतभुलु अजिमा अर्थात् श्वतेकाली नाच हिजो तलेजु मन्दिरको प्राङ्गणमा अवस्थित डबलीमा नचाइयो ।

न्यतभुलु अजिमा प्रत्येक १२ वर्षको पाहाँचह्रेका दिन निकालेर त्यस दिन बेलुकी र भोलिपल्ट दिनभरी नरदेवी मन्दिर अगाडीको दबलीमा नचाउने परम्परा रही आएको छ ।

यही नाच १२ वर्षको एकचोटी सोही दबलीका साथै विभिन्न देशदेशान्तरमा पनि नचाउने परम्परा रहेको छ । यसै क्रममा आश्विन ३१ गते बेलुकी देखि १ गतेसम्म काठमाडौंको तलेजु भवानीको प्रांगण त्रिशुल चोकमा नचाइयो ।

सो अवसरमा साँझ ६ बजे नरदेवीको द्यःछेँबाट देवीनाच आरम्भ भएको थियो । बेलुका अन्दाजी ८ बजेसम्मा तलेजु भवानी मन्दिरको डबलीमा प्रवेश गराईने र ततपश्चात सोही राती करिब १० बजेसम्म सर्वसाधारणलाई दर्शनार्थ देवी नाच प्रर्दशन गरेको थियो ।

सो देवगणहरुको नाच करिब राती १ बजेसम्म नचाइन्छ र त्यो दिनको नाच सम्पन्न भएको थियो । यसरी पहिलो चरणको नाच सम्पन्न भएपछि दोस्रो चरणको नाचका लागि कात्तिक १ गते विहान ६ बजेबाट प्रारम्भ भएको थियो । सो दिन दिनभरी देवी नाच प्रदर्शन भई करिब बेलुका ६ बजे तलेजु मन्दिरको डबलीमा दोस्रो चरणको नाच सम्पन्न भएको छ ।

आज बुधबार २ गतेदेखि भोली ३ गतेसम्म कुमारी घर अगाडि अवस्थित डबलीमा ङ्यतभुलु अजिमाको नाच नचाएर बेलुका ८ बजे सम्पन्न गरी नरदेवीस्थित द्यःछेँमा प्रस्थान गर्ने परम्परा रहेको छ ।

यसरी अजिमाको नाच देखाइने दिन बेलुकी सम्पूर्ण देवगणहरु नरदेवीबाट बाजागाजाका साथै बाहिर निस्कन्छन् र बाटोमा पर्ने मन्दिरमा द्यः ल्हाये गर्दै त्रिशुलचोक पुग्नेछन् ।

भोलिपल्ट बिहान सुथःमाजु अर्थात करुणामयको दबलीमा आगमन भइ धकिं अर्थात एकप्रकारको देवताको मूर्ति अकिंत पर्दामा अक्षता छरेर नाचेपछि दोश्रो दिनको नाचको शुरुवात हुन्छ ।

एवं प्रकारले महादेवको आगमन र नाच, त्यसपछि दबलीमा गणेश र कुमार आगमन पछि तीनै जनाको संयुक्त नाच हुनेछ । नाचपछि तुलाधरका पुजारीहरले समयबजि सहितको पूजा तीनै जना देवगणलाइ गर्छन् र फेरी नाच प्रस्तुत गर्दछन् ।

यसै प्रकार दबलीमा क्रमैसंग ब्राम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, महालक्ष्मी, बाराही, भैरव, कुमारी, कुमारी र श्वेतकालीको युगल नाच हुन्छ जसलाइ निम्ह माचा नाच भनिन्छ । त्यसपछि सिंहिणी र ब्याघ्रिणीको नाच हुन्छ ।

अनि फेरी कुमारी र श्वेतकालीको नाच हुन्छ । फेरी प्यम्ह माचाको नाच हुन्छ जसमा कुमारी, श्वेतकाली, बाराही र भैरव नाच्छन् ।

अनि चण्डासुर दैत्यको आगमन, चण्डासुर र कुमारीको युद्ध, कुमारीद्वारा महादेवसंग वरमाग्ने नाच, श्वेतकालीद्वारा कुमारीलाइ तान्त्रिक विधिको सम्मोहन ज्ञानका साथै कुमारी, चण्डेश्वरीको रुपमा बाहिर आइ श्वेतकालीका साथमा दैत्यसंग युद्ध गर्दछन् अन्तमा दैत्यको संहार श्वेतकालीको खड्गलिइ चण्डेश्वरीले गर्छिन् ।

दैत्यको संहारमा ध्वं द्यः र खिचाद्यःले खुशीको नाच नाच्छन् । त्यपछि सबैदेवगणलाइ दबलीमा आमन्त्रण गरी पूजा गर्दछन् र समयबजि प्रसादको रुपमा भक्तजनलाइ समेत बाँडी नाचको समापन गर्दछन् ।

किवंदन्ती अनुसार अहिले नरदेवी मन्दिर रहेको स्थानमा घनाजंगल थियो ।

एक दिन बनेपाका राजा काठमाडौँको हात्ती सिकार गर्न आउनुभएको थियो। आफ्नो सिकार गर्न आएको देखी हात्ती रिसाई राजालाई मार्न लखेटेपछि राजा भाग्दै च स्वाँ एक प्रकारको फूल फुल्ने रुखनिर पुग्नुभयो। हात्तीदेखि डराएका राजाले त्यहाँ आफूलाई बचाउन गुहार माग्नुभयो।

त्यसपछि त्यहाँ ठूलो ज्योति उत्पत्ति हुँदा हात्ती राजालाई केही गर्न नसकी फर्कियो। अनि राजा प्रसन्न भई आफूलाई बचाउने त्यो ज्योति पक्कै पनि कुनै दैवी शक्तियुक्त भएको बुझी नाना प्रकारका स्तुति गर्नुभयो। सो रुखको फेदबाट श्वेत वर्णकी श्वेतकाली देवी उत्पन्न भई दर्शन दिएको भन्ने किंवदन्ती छ।

मध्यरातबाट श्वेतकालीसहित अष्टमातृका बाहिर निस्की नृत्य प्रस्तुत गर्ने गरेको तान्त्रिक गुरु लम्बकर्ण भट्टले पत्ता लगाएको किंवदन्ती छ। सोही कुरालाई हरेक वर्ष घोडेजात्राका दिन नरदेवीको डबलीमा हुने गणनाचले प्रतिविम्बित गरेको इतिहासविद्हरु बताउँछन् ।

नरदेवीलाई नरबलि लिने देवीका रूपमा पनि लिइन्छ तर त्यो भनेको मानिसको बलि नभई मानिसको मनभित्रको अहङ्कार, ईष्र्या, क्रूरता, आलस्यको बलि भन्न खोजिएको जानकारहरूको भनाइ छ।

वंशावलीअनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशको रक्षार्थ नगरका चारैतिर लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा र लुती अजिमा स्थापना गरी खटजात्रा चलाउनुभएको हो।

फोटो फेसबुकबाट

Categorized in संस्कृति