मातृभाषी चलचित्रको विकासमा तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड
SamacharDesk – बिकाश | २०७८ आश्विन २, शनिबार

आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले मातृभाषी चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आज ललितपुरमा आयोजित नेवाः फिल्म सोसाईटीको आठौं वार्षिक साधारण सभा र दोश्रो अधिवेशन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुनुवारले मातृभाषी चलचित्रको लागि योजना ल्याउन प्रदेश सरकारसँग माग गर्नुभयो ।
प्रदेश २ सरकारले मातृभाषी चलचित्रको लागि आर्थिक सुविधाको व्यवस्था गरिसकेको उल्लेख गर्दै नेपालभाषाको चलचित्रको लागि वागमति प्रदेश सरकारले पनि योजना ल्याउनुपर्नेमा सुनुवारले जोड दिनुभयो ।
‘अहिले ३ तहको सरकार छ, तीनै तहको सरकारसँग हामी सम्वाद गर्दैछौं । संघीयको साथमा प्रदेश र स्थानीय सरकारले पनि स्थानीय मातृभाषी चलचित्र क्षेत्रको विकासमा ध्यान पुर्याउनुपर्छ’ सुनुवारले भन्नुभयो ।
दर्तालगायतका प्रकृया पूरा नगरी निर्माण भईरहँदा मातृभाषी चलचित्र र चलचित्रकर्मीहरुले राज्यले नचिनेको भन्दै सुनुवारले महासंघबाट सम्पूर्ण मातृभाषी चलचित्रको तथ्याङ्क संकलन गरी चलचित्र विकास बोर्डलाई बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
त्यसैगरी वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले सम्पूर्ण नेवाः चलचित्रकर्मीलाई नेवाः फिल्म सोसाईटीमा एकताबद्ध हुन आग्रह गर्नुभयो ।
वरिष्ठ कलाकार राजेन्द्रमान शाक्य, थाइल्यान्डका लागि नेपाल पर्यटन बोर्डका पर्यटन दूत चिरन शाक्यले चलचित्र निर्माण गर्दा गुणस्तरमा ध्यान दिन सुझाव दिँदै आफ्नो समुदायको फिल्मलाई प्रोत्साहित गर्नको लागि नेवाः समुदायलाई आग्रह गर्नुभयो ।
सोसाईटीका अध्यक्ष लुःजः सिंहले संस्थाका उद्देश्य र गतिविधिको बारे जानकारी दिँदै सम्पूर्ण नेवार लगायत आदिवासी जनजाति चलचित्रकर्मीहरु एकताबद्ध भई सबैको बृहत्तर हित र उत्थानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
सभाले बिराजकाजी राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
Categorized in पेजथ्री