जनजातिलाई राज्यदेखि संचारमाध्यमले समेत उपेक्षा गरेको गुनासो
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण १३, शनिबार

जनजाति चलचित्रकर्मीहरुले राज्यले मातृभाषी चलचित्र क्षेत्रको उत्थानका लागि पहल गर्नुभन्दा भएका सुविधासमेत कटौती गर्न खोजिरहेको गुनासो गरेका छन् ।
काठमाडौंमा नेवाः फिल्म सोसाइटीबाट आयोजित सगुन कार्यक्रमका वक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले राज्यबाट पटक पटक आदिवासी चलचित्र क्षेत्रलाई दबाउन खोजेको दावी गर्दै फेरी पनि यस्तै भएमा आफुहरु संघर्षमा उत्रिने चेतावनी दिए ।
विगतमा धेरै पल्ट चलचित्र विकास बोर्डबाट महासंघलाई पाउँदै आएको सुविधा कटौती गर्न खोजेको विकास बोर्ड अन्तर्गतकै मातृभाषी चलचित्र प्रवद्र्धन समितिले अहिलेसम्म एउटा कार्यकक्ष नदिनुबाट राज्यको मातृभाषी चलचित्र क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट भएको राईको भनाई हो ।
‘हामीलाई समय समयमा धेरै ठाउँमा धेरै पटक अपमान अपहेलित गरिएको छ, हाम्रो उपेक्षा गरिएको छ । फेरी पनि यस्तै भइरहे सम्पूर्ण आदिवासी चलचित्रकर्मीहरु एकजुट भएर संघर्षमा उत्रिनुको विकल्प रहन्न’ राईको भनाई हो ।
लामो संघर्ष पछि चलचित्र ऐनमा आदिवासी जनजाति चलचित्र उल्लेख गराउन आफुहरु सफल भएको पनि राईले स्मरण गराए ।
सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेवाः पत्रकार र आदिवासी जनजाति चलचित्र महासंघले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
जनजाति चलचित्रको प्रचार प्रसार र सूचना प्रवाहमा पत्रकार दबूबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि श्रेष्ठले व्यक्त गरे ।
त्यस्तै नेवाः फिल्म सोसाइटीका अध्यक्ष बिराजकाजी राजोपाध्यायले राज्यदेखि संचार माध्यमसम्मले पनि जनजाति सम्वद्ध गतिविधिहरुलाई बेवास्ता गर्ने गरेको गुनासो गरे ।
‘मूलधार भनिएको खस भाषाको चलचित्रसँग सम्वन्धित भएमा संचारमाध्यममा ठुलै समाचार पनि बन्ने गर्छ तर, मातृभाषी चलचित्रको केही ठुलै कार्यक्रम, गतिविधि भएपनि सानो समाचारसम्म बन्दैन, किन ?’ राजोपाध्यायले प्रश्न तेर्साए ।
यस्तो परिवेशमा मातृभाषी चलचित्रकर्मी र पत्रकार एकजुट भएर अघि बढ्नुपर्नेमा राजोपाध्यायले जोड दिए ।
कार्यक्रममा फिल्म सोसाइटीले महासंघ र पत्रकार दबूको नवनिर्वाचित कार्यसमितिलाई शुभकामनासहित नेवार परम्परा अनुसार ख्येँय् सगं (सगुन) दिएको थियो ।
कार्यक्रममा नेवाः फिल्म सोसाइटीका सदस्य राजन शाही, रुपेन्द्र कुमार श्रेष्ठ, पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन लगायतले मातृभाषा चलचित्र र पत्रकारिता क्षेत्रको अवस्था, समस्याबारेमा कुरा राखेका थिए ।
